लकडाउनको निहुँमा दैलेखमा झडप : प्रहरीद्वारा हवाई फायर, दुई घाइते

दैलेख । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ मा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ। त्यस क्रममा स्थिति नियन्त्रणमा लिन भन्दै प्रहरीले दुई राउण्ड हवाई फायर पनि गरेको छ ।

शनिबार साँझ भएको झडपमा प्रहरी जवान खगेन्द्र सुनार र स्थानीय कमल शाही घाइते भएको प्रहरीले जनाएको छ ।

सालटाकुरा नाव–साल्टाडाँडा सडक निर्माणका क्रममा लकडाउनको उल्लङ्घन गरी ५०–६० स्थानीय बासिन्दा जम्मा भएको जानकारी पाएपछि प्रहरी पुगेको थियो । त्यसपछि स्थानीय बासिन्दाले एक्कासि प्रहरीलाई आक्रमण गरेको दैलेख जिल्ला प्रहरी कार्यालयका प्रमुख हरिबहादुर ओलीको भनाइ छ ।

नगरपालिकाका उपप्रमुख तारा शाहीले लकडाउन उल्लङ्घन गरी सडक खन्ने क्रममा विवाद भएपछि प्रहरीलाई बोलाउँदा घटना भएको बताएका छन् ।

उनका अनुसार शनिबार दिउँसो मात्रै सहमतिका आधारमा सडक खन्ने भनेर काम गर्न आग्रह गरिएको थियो। आफूहरु दिउँसो त्यहीँ बसेको र मान्छेको भिडभाड पनि धेरै भएकाले आफूहरूले प्रहरीलाई त्यहाँ पठाएको बताए । घटनाबारे सबै बसेर नियम कानुनअनुसार अघि बढ्ने उनको भनाइ छ ।

अहिले घटनास्थलमा थप सुरक्षा बल दुल्लुबाट पठाइएको र स्थिति सामान्य भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान हुने र आवश्यक छानबिन गरी कारबाही अघि बढाइने दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए । प्रदेश सरकारको २० लाख र नगरपालिकाको ५ लाख रुपैयाँबाट उपभोक्ता समितिमार्फत सडक निर्माण भइरहेको हो ।

 

 
 
  
 

You may also like