कोरोनाबाट विश्वभर ७८ नेपालीको मृत्यु, ५,४७२ जना संक्रमित

  • कुन देशमा कति नेपालीको कोरोना संक्रमणबाट मृत्यु ?

काठमाडौं । विश्वव्यापी महामारी कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट स्वदेशका नेपाली भन्दा विदेशमा रहेका नेपाली बढी प्रताडित भइरहेका छन् ।

विश्वव्यापी कोरोना भाइरस संक्रमणबाट शनिबारसम्ममा विश्वभर ७८ जना नेपालीले ज्यान गुमाउनु परेको छ । संसारभर रहेका ७८ जना गैरआवासीय नेपालीले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनु परेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको हो ।

एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्याङ्क अनुसार सबैभन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ । यसैगरी संयुक्त राज्य अमेरिकामा कोरोनाका कारण १५ जनाको मृत्यु भएको छ । जसमा न्यूयोर्कमा १२, कोलोराडोमा २ र भर्जि्नियामा १ जनाको मृत्यु भएको हो ।

यस्तै, संयुक्त अरब इमिरेट्स्ट (युएइ) मा ६, आयरल्याण्डमा एक, जापानमा एक , टर्कीमा एक, नेदरल्याण्डमा एक, बहराइन एक, स्वीडेन एक जनाको कोरोना भाइरसका कारण ज्यान गएको समितिका संयोजक डा. सञ्जिव सापकोटाले जानकारी दिएका छन् । यसै हप्ता मात्र थप पाँच नेपालीले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा युके दुई, स्वीडेन एक, बहराइन एक, युएईमा एक छन् ।

यस्तै, संयोजक डा. सापकोटाका अनुसार नेपाल बाहेक विश्वभर ५ हजार ४७२ जना गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन् । जसमध्ये २ हजारभन्दा बढी संक्रमण मुक्त भएको अनुमान समितिको छ ।

सापकोटाले विदेशमा रहेका नेपाली समुदायमा कोरोना भाइरस संक्रमणको गति गत साताभन्दा कम हुँदै गएको पनि बताएका छन् । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो आँकडाअनुसार ९ देशमा गैरआवासीय नेपालीको ज्यान गएको छ भने बाँकी २० देशका नेपालीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण भएको छ ।

यसैबीच गैरआवासीय नेपाली संघले कोभिड १९ को प्रभावित देशहरुमा राहत वितरण भइरहेको जनाएको छ । संघका महासचिव डा. हेमराज शर्माका अनुसार ४६ देशका २७० भन्दा बढी क्षेत्र (शहर) मा एक हजार ६ सया बढी स्वंसेवकहरु राहत वितरणमा खटेका छन् ।

 
 
  
 

You may also like