मस्जिदमा जमाती ल्याएर राखेको निहुँमा पर्सा दुई पक्षबीच झडप, ८ जना घाइते

पर्सा। पर्साको बहुदरामाइ नगरपालिका वडा नम्बर ९ विश्रामपुरको मौजेटोलमा शनिबार बेलुकी दुई पक्षबीच झडप भएको छ । मौजेटोलमा देवान र कलवार पक्षबीच भएको झडपमा दुवै पक्षका गरी ८ जना भन्दाबढी घाइते भएका छन् ।

घाइते हुनेहरुमा देवान पक्षका फैयाद देवान, फतिमा खातुन, मखमुल राय भाट र बडिया राय भाट तथा कलवार पक्षका चन्दन गुप्ता कलवार, सुनिल गुप्ता कलवार, राधेश्याम गुप्ता र सुशीला देवी छन् । घाइतेहरुको वीरगन्जस्थित नेशनल मेकिडल कलेज र गण्डक हस्पिटलमा उपचार भइरहेको छ ।

वडासदस्य फकरुद्धिन देवानका अनुसार, मौजेटोलमा रहेको मस्जिदमा शनिबार बेलुकी केही व्यक्तिले ढुङगा, इँटा प्रहार गरेपछि त्यही विषयलाई लिएर झडप भएको हो । ४–५ जना उच्छृङ्खल व्यक्तिले मस्जिदमा बाहिरका जमाती ल्याएर राखिएको भन्दै ढुङगा, इँटा हान्न थालेपछि मस्जिद छेउकै स्थानीयले प्रतिवाद गर्दा झडप हुन पुगेको वडा सदस्य देवानले बताए ।

झडपमा घाइते भइ नेशनल मेडिकल कलेजमा उपचार गराइरहेका चन्दन गुप्ताले भने मस्जिदमा केहिदिन देखि बस्दै आएका बाहिरका जमातीलाई नराखौ भनेर आफूहरु जाँदा ढुङगाले हान्न थालिएपछि झडप भएको दाबी गरेका छन् ।

झडपको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा आएको प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिएको वडा सदस्य देवानले बताए ।

प्रहरीले झडपमा संलग्न रहेको आरोपमा स्थानीय राजु गुप्ता र नसुरलाह मियाँलाई नियन्त्रणमा लिएको छ । ‘दुई जनालाइ नियन्त्रणमा लिएका छाैं, पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले भनिन् , ‘तर झडप किन भयो यस विषयमा दुवै पक्षले बोल्न मानिरहेका छैनन् ।’ यस विषयमा अनुसन्धान भइरहेको पन्तले जानकारी दिइन् ।

वडा अध्यक्ष रवि गुप्ताले गाँउमा समाजिक सदभाव बिथोल्ने नियत राखेका केही व्यक्तिका कारण दुःखद् घटना हुन पुगेको बताए । ‘मस्जिदमा बाहिरका कोहि पनि छैनन्, हामीले पहिल्यै प्रहरी बोलाएर मस्जिदमा खानतलासी पहिले नै गराइ सकेका थियौं’ उनले भने, ‘तर सामाजिक सद्भाव बिथोल्ने कुनियत राखेकाहरुका कारण घटना हुन पुग्यो । अन्नपूर्ण पोष्टबाट

 

 
 
  
 

You may also like