स्वास्थ्य सेवा विभागले ग-यो ओम्नीसँगको स्वास्थ्य सामग्री खरिद सम्झौता रद्द, नयाँ खरिद प्रक्रिया सुरु गर्न आह्वान

काठमाडौं । सरकारले कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि चीनबाट औषधिजन्य सामग्री ल्याउने भनिएको कम्पनीसँगको सम्झौता रद्द गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले सम्झौतानुसार सामग्री ल्याउन नसक्ने भएपछि ओम्नी बिजनेस कर्पोरेट इन्टरनेशनल प्रालि (ओबीसीआई)संँगको सम्झौता रद्द गरिएको जानकारी दिनुभएको हो ।

सो कम्पनीले भनेको समयमा औषधिजन्य सामग्री ल्याउन नसक्ने जनाउँदै उक्त कम्पनीसंँग औषधि ल्याउने सहमति रद्द गरिएको उहाँले बताउनुभयो । उहाँले सम्झौतानुसार उक्त कम्पनीले १८ प्रतिशत रकम खर्च गरेर १० प्रतिशत मात्र औषधि ल्याएको जानकारी दिनुभयो ।

उहाँले सहमतिअनुसार औषधि नल्याएको हुनाले उक्त कम्पनीको धरौटी जफत गर्नुका साथै कालोसूचीमा राख्नका लागि सम्बन्धित निकायलाई अनुरोधसमेत गरिने जानकारी दिनुभयो ।

महानिर्देशक श्रेष्ठले अहिले संकटका बेला उक्त कम्पनीमार्फत ल्याइएको सामग्रीमा २० प्रतिशतभन्दा बढी मूल्य परेकोसमेत स्वीकार गर्नुभयो ।

उक्त कम्पनीसँंग केही दिनअघि मात्र द्रुतगतिमा औषधि ल्याइने सम्झौता भएको थियो । उक्त सम्झौतानुसार गत आइतबार कम्पनीले कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि गगल्स, गाउन, जाँच गर्ने पञ्जा, सफाइमा प्रयोग हुने पञ्जा, एन–९५ मास्क, डिस्पोजेबल जुत्ता तथा अनुहार छोप्ने सामग्री, इन्फ्रारेड थर्मोमिटर, कोरोना परीक्षण गर्ने पोर्टेबल पीसीआर मेसिन, पोर्टेबल पीसीआर रिएजेन्ट, संक्रमण परीक्षण किट, नमुना संकलन गर्ने ट्युबहरु थिए ।

सरकार र आयातकर्तासँग भएको सम्झौतामा १ अर्ब २४ करोड बराबरका उक्त सामग्री तीन पटकमा नेपाल ल्याइसकिने उल्लेख थियो ।

उहाँले उक्त कम्पनीसँंगको सम्झौता रद्द गरेर पुनः बिहीबारदेखि अर्को सम्झौताका लागि प्रक्रिया थालिने जानकारी दिनुभयो । उहाँका अनुसार तीन दिनको बोलपत्र आह्वान निकालेर पाँच दिनभित्र औषधिजन्य सामग्री ल्याउने मन्त्रालयको तयारी छ ।

 
 
  
 

You may also like