कस्तो छ टेकुमा उपचाररत कोरोना संक्रमित दुई जनाको अवस्था ? ७५८ को नमूना परीक्षण

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण नियन्त्रित अवस्थामै
काठमाडौं। नेपालभित्र हालसम्म कोरोना भाइरस संक्रमित पुष्टि भइसकेका तीन जना पुगेका छन् ।

फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक १९ वर्षीया युवतीमा कोरोना पुष्टि भएपछि नेपालमा कोरोना भाइरस संक्रमणले बढी चर्चा पाउनुका साथै सरकारले पनि थप उच्च सतर्कता अगाडि बढाएको थियो । अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमित एक युवती र युवकको उपचार भइरहेको छ ।

उनीहरुको उपचार चलिरहेका बेला आम नेपालीमा उनीहरुको स्वास्थ्य अवस्थाका बारेमा खुल्दुली चलिरहेको छ । छिमेकी देश भारतमा कोरोना संक्रमणबाट २० जनाको ज्यान गइसकेको अवस्थामा नेपालमा कोरोना पुष्टि भइसकेका बिरामीको अवस्था कस्तो होला भन्ने जिज्ञासा उठ्नु स्वभाविक पनि हो ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले भने नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमण नियन्त्रित अवस्थामै रहेको बताएको छ । अस्पतालले नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि भएका तीन जनामध्ये एक जना पूर्ण स्वस्थ भएर घर फर्किसकेको जनाएको छ ।

अहिले अस्पतालमा रहेका एक युवती र युवाको उपचार चलिरहेको अस्पतालले जानकारी दिएको छ । टेकु अस्पतालका डाक्टरले दिएको अहिलेसम्मको जानकारीमा अस्पतालमा रहेका १९ वर्षीया युवती र एक ३२ वर्षीय युवकको स्वास्थ्य सामान्य अवस्थामै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

उनले युवकमा खोकीको समस्या रहेको र युवतीको अवस्था सामान्य रहेको अस्पतालका डाक्टरले आफूहरुलाई जानकारी गराएको प्रवक्ता देवकोटाले बताएका छन् । उनले भने, ‘अहिलेसम्म युवतीको अवस्थामा सामान्य देखिन्छ, युवकलाई भने खोकी लागिरहेको छ । दुवैमा खासै जटिल लक्षण देखिएको छैन ।’

अहिले उनीहरुको उपचारमा टेकुका स्वास्थ्यकर्मी अहोरात्र खटिरहेको बताउँदै देवकोटाले भने, ‘बाँकी कुरा डाक्टरहरुको परामर्श र छलफल पछि मात्र भन्न सकिन्छ ।’ टेकुमा उपचाररत युवती फ्रान्सबाट युवती कतार हुँदै विमानमार्फत नेपाल आएकी थिइन् । यता ३२ वर्षीय युवक भने यूएई (दुवई) बाट आएका थिए ।

हालसम्म ७५८ जनाको नमूना परीक्षण
विश्वमा विकसित देशहरुलाई समेत आक्रान्त बनाइरहेको अवस्थामा नेपालमा देखिएको कोरोना भाइरस संक्रमणले धेरै नेपालीलाई चिन्तित बनाइरहेको छ । नेपालमा कोरोना भाइरस संक्रमित बिरामी देखिएको अवस्था र सरकारले लकडाउन आदेशअघि भारतलगायत विभिन्न देशबाट ठूलो संख्यामा नेपालीहरु देश भित्रिएपछि नागरिकमा थप चिन्ता जगाएको छ ।

भारतमा रोजगारी गरिरहेका ठूलो संख्याका नेपाली भित्रिएपछि थप चिन्ता बढाएको पाइएको छ । जसका कारण पछिल्लो समय कोरोना भाइरस संक्रमणको आशंकामा नमूना परीक्षण गराउनेहरु ह्वातै बढेको टेकु अस्पतालले बताएको छ ।

कोरोना संक्रमण परीक्षण हुने नेपालको एक मात्र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाका अनुसार अहिले (बिहीबार साँझ) सम्म ७५८ बिरामीको नमूना (र्‍याल) परीक्षण भइसकेको छ । तीमध्ये तीन जना बाहेक अन्यमा कोरोना देखिएको छैन । यस्तै कोरोना परीक्षणका लागि अहिलेसम्म ६८७ वटा नमुना प्राप्त भएको प्रयोेगशालाको तथ्याङ्गमा उल्लेख छ । हालसम्मको अवस्थामा नेपालमा तीन जना बाहेक अरु कसैमा कोरोना देखिएको छैन ।

 
 
  
 

You may also like