डब्ल्युएचओले भन्यो, ‘मानिसबीचको सम्पर्कमा कडाइ नगरे कोरोना नियन्त्रण बाहिर जान्छ’

परीक्षणलाई तीब्र बनाउनु पर्ने सुझाव

काठमाडौं। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले परीक्षणलाई थप तीब्र नबनाए कोरोना (कोभिड १९) भाइरसको महामारी नियन्त्रण बाहिर जाने चेतावनी दिएको छ ।

डब्ल्युएचओले कोराना भाइरसको संक्रमण फैलिन नदिन मानिसबीचको सम्पर्कलाई थप कडाइ गर्नुपर्ने बताएको छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम गेबेरियससले माहामारी तीव्र गतिमा फैलिरहेको भन्दै सबै देशले अहिले गरिरहेको काममा थप प्रयास गरेमा नियन्त्रण लिन सम्भव हुने जानकारी गराएका हुन् ।

कोरोना सङ्क्रमितको संख्या पहिलो एक लाख पुग्न ६७ दिन लागेकोमा दोस्रो एक लाख ११ दिनमा पुगेको थियो । तर अर्काे चार दिनमा नै तेस्रो लाख लाख पुगेको भन्दै महानिर्देशक गेबेरियससले अब देशहरुले रणनीति परिवर्तन गर्दै परीक्षणलाई तीव्रता नदिए र मानिसबीचको सम्पर्कमा कडाइ नगरेमा माहामारी गम्भीर बन्ने चेतावनी समेत दिए ।

१९५ देश र एउटा अन्तर्राष्ट्रिय पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म तीन लाख ७८ हजार सात सय जनामा सङ्क्रमण भइसकेको छ । सङ्क्रमतिमध्ये एक लाख एक हजारभन्दा धेरै उपचारपछि निको भएका छन् भने १६ हजार ४९५ जनाको ज्यान गइसकेको छ । एजेन्सी

 
 
  
 

You may also like