सबैले हेर्नै पर्ने चलचित्र ‘ आमा ‘

प्रसिद्ध कवि तथा कथाकार रविन्द्रनाथ टेगोरले भनेका थिए, चाहनाको शुद्धताको उच्चतम बिन्दु नै एक स्त्रीको आमा बन्ने चाहना हो । भग्वान सबै ठाउँमा पुग्न सक्दैनन् त्यसैले आमा बनाएका हुन् रे । आमा चलचित्रको ट्रेलरमा रहेको यो संवादले धेरैको मन छोयो । हेर्दा सरल लाग्ने तर हाम्रो समाजमा भयानक जरा गाडिसकेको समस्यालाई यथार्थपरक रुपमा आमा चलचित्रमा पस्किएका छन् निर्देशक दिपेन्द्र के. खनालले । तीन फरक आमाहरुको कथा हो “आमा” जसले हाम्रो समाजको आमाहरुको प्रतिनिधित्व गर्दछ ।

पृष्ठभूमिः
मुख्य पात्र आरती (सुरक्षा पन्त) की बाबु (देशभक्त खनाल) भ¥याङबाट लडेर घाईते हुँदा स्थानिय अस्पतालमा उपचार सम्भव नभएपछि राजधानी रिफर गरिन्छ र आरतीकी आमाले गाउँबाट एम्बुलेन्समा हालेर उपचारको लागि काठमाडौं लिएर आउने पृष्ठभूमिबाट चलचित्र सुरु हुन्छ । आरती एक निजी विद्यालयमा शिक्षिकाको रुपमा कार्यरत हुन्छिन् भने उनका श्रीमान् एक निजी कम्पनीमा कार्यरत हुन्छन् । आरतीका दाई अवैध तरिकाले अमेरिका प्रवेश गरेका हुन्छन् र त्यहाँको बसाईलाई वैध बनाउन प्रयासरत हुन्छन् ।

आरतीका बाबुलाई उपचारको लागि सरकारी अस्पताल ल्याउँदा त्यहाँको एमआरआई मेसिन बिग्रिएको हुन्छ र कथाकी मूलपात्र आरतीको “सरकारी भन्ने बित्तिकै सबै बिग्रिएको भत्केको मात्रै हुन्छ है” भन्ने संवादले मन छुन्छ । अर्को अस्पतालमा उपचारको लागि लैजाँदा त्यहाँ आन्दोलन भईरहेको हुन्छ । यहाँ सधैं यस्तै आन्दोलन हुन्छ भनेर एम्बुलेन्स चालकले एउटा राम्रो अस्पताल लैजान्छु भनेर त्यतै लैजान्छन् । कहिले भवितव्य त कहिले डाक्टर/अस्पतालको लापरवाहीले बिरामीको ज्यान जाँदा आफन्तजन आक्रोशित हुनु स्वभाविक नै होला तर त्यसैको प्रत्यक्ष लाभ उठाउन गिरोह नै सक्रिय रहेको केही अस्पतालहरु बताउँछन् । यस्ता गिरोहले हुलदङ्गा गराउने व्यक्ति क्षणभरमै जम्मा पार्ने, बिरामीका आफन्तलाई उचाल्ने र आर्थिक लाभ लिन खोज्ने केही अस्पतालले बताएपनि यसमा सूक्ष्म अनुसन्धान हुनुपर्ने देखिन्छ । केही महिना अघि चितवनको एक रिसोर्टमा एम्बुलेन्स चालकहरुलाई भेला गरेर भोज खुवाई बिरामीलाई आफ्नो अस्पतालमा ल्याए वापत् प्रति बिरामी रु ७,०००/- दिने एक निजी अस्पतालको योजना बाहिरिएपछि घिनलाग्दो व्यापार रणनीतिले सबैलाई स्तब्ध बनाएको थियो । अस्पतालको शुल्क, सेवा सुविधा गुणस्तर निर्धारण गर्नको लागि नियामक निकायले ध्यान दिन जरुरी छ ।

३ फरक आमाः
एक आमा जसको श्रीमान्, एक छोरा र एक छोरी छन् । एक आमा जसको श्रीमान् विदेशमा छन्, फरक धर्म भएका व्यक्तिसँग विवाह गरेर घर र माईती दुवैतिरबाट तिरस्कृत छिन्, भर्खर जन्मिएको सन्तानलाई स्तनपान गराउन त के छातीमा टाँस्न समेत पाएकी छैनन् । एकजना आमा बन्न प्रयासरत छिन्, देवर देवरानीको सन्तान भईसक्दा पनि आफ्नो सन्तान नहुँदा घरका सदस्यहरुको अपहेलना सहनुपरेको छ र अन्तिम उपाय छ टेष्टट्यूब प्रविधिद्वारा सन्तान जन्माउने ।

स्वास्थ्यमा व्यापारः
चलचित्रको कथा अघि बढ्दै गर्दा अस्पतालको बदनियत उदाङ्गो हुँदै जान्छ । अस्पतालले बिरामीलाई बिरामी नभई बलिको बोका देख्छ जसबाट सक्दो धेरै असुल्न खोज्छ । अनावश्यक औषधि मगाउने, औषधिको नामै तोकेर प्रेस्क्रिप्सन दिने र मृत भईसकेका व्यक्तिलाई समेत भेन्टिलेटरमा राखेर सक्दो बढी असुलउपर गर्ने; मानवसेवाको आवरणमा सँसारमै यो भन्दा घृणित कार्य अरु के हुन सक्ला र ? त्यस्तै नर्सहरुको अभद्र व्यवहार, अस्पतालको असुली गर्ने तौरतरिका, बिरामीलाई अपहरित शैलीमा बन्दी बनाउने आदि विकृतिहरुलाई उजागर गरेको छ “आमा”ले ।

छोरा छोरीबीच विभेद:
अस्पतालमा उपचाररत देशभक्त खनाल सामान्य होस् आएपछि आफ्नो अगाडि रहेकी छोरीलाई त्यति महत्व दिँदैनन् तर ढोकामा आँखा तन्काईरहन्छन् कतै छोरा आईपुग्यो कि भनेर । एक आमाले आफ्नो हृदय छिया छिया हुँदा पनि श्रीमान्को हृदय छिया छिया हुनबाट रोक्न वैध बहाना बताएर मन शान्त गरिदिन्छिन् । त्यहिँनिर आफ्नो घरबारै बिग्रिन लागे पनि परवाह नगरेर दिनरात बाबुको सेवामा लागेकी आरतीको उपस्थिति बाबुको लागि उल्लेखनिय नहुँदा पनि पनि आफैलाई सम्हाल्छिन् । आरतीलाई सो विषम् परिस्थितिमा बुझेर साथ दिन सक्ने एक मात्र व्यक्ति छन् उनका श्रीमान्, जसले ज्वाईंको भूमिकामा छोराको कर्तव्य पनि निभाउनुपर्ने हुन्छ । आरती एक अटल छोरीको रुपमा उभिएकी छिन् जसले आफ्नो भूमिकालाई अन्त्यसम्म न्याय गर्छिन् ।

विदेशिने लहर र गलपासो:
आरतीका बाबुलाई उपचारको लागि ल्याउँदा आमा मात्रै सँगै देखेर गाउँका मानिस खोई त भनी प्रश्न गर्दा जम्माजम्मी ७–८ घर बाँकी रहेको उनकी आमाले बताउँछिन् । धेरै गाउँको समस्या यस्तै छ । बिरामी हुँदा कुरुवा बस्न, मलामी जान, मेलापात गर्न समेत पुरुष छैनन् । पहिले गृहयुद्धको खेदाईले खोलेको ट्रयाक अहिले सपना र प्रतिस्पर्धाको खेदाईले भरिँदैछ । केही समयअघि एकजना युवाले चर्चित कार्यक्रम हिमालायन रोडिजमा आफू कसरी प्रशासनबाट पीडित भएको, कसरी हिँड्दै अमेरिका पुगेको, त्यहाँ पुगिसकेपछि पनि ठगिएको रहस्य खोल्दा त्यसले धेरैजनालाई स्त्बध बनाएको थियो । आरतीका दाई पनि गैर कानूनीबाटो बाट अमेरिका पुगेका हुन्छन् जसले त्यहाँको कागजात नबनाएसम्म नेपाल फर्किन पाउँदैनन्, जेल बसेर कानूनी लडाईं लडिसकेपछि नेपाल फर्काईन्छ तर फेरी अमेरिका जान नपाउने गरि । यस्तै सपनाको लडाईंमा विदेशिएका नेपाली कहिलेकाहीं बह पोख्दै लेख्छन्, पहिले विदेश आउनु एउटा सपना जस्तै लाग्थ्यो तर अहिले आफ्नो देश फर्किन पाउनु नै एउटा सपना जस्तो लाग्छ ।

गरिबीमाथि धर्मको खेलः
अस्पतालमा दुखी धेरै भेटिने र उनीहरुको दुख माथि धर्मको घिनलाग्दो खेल भईरहेको पाटोलाई पनि प्रस्तुत गर्न भ्याएका छन् निर्देशक खनालले । देशमा बेथिति बढ्दै जाँदा र अत्यावश्यक क्षेत्रमा राज्यको पकड/नियमन/नियन्त्रण गुम्दै जाँदा धर्म परिवर्तन गराउन खोज्नेहरुको सङ्ख्या बढ्दै गईरहेको छ भने यसले दीर्घकालीन असर निम्त्याउनुको साथै धार्मिक सहिष्णुतामा पनि खलल पु¥याउन सक्ने खतरा छ ।

हिलोमाझ फुल्ने कमलः
फुलको आँखामा फूलै सँसार भनेजस्तै असह्य पीडामाझ पनि आमाहरुको ममताको खानी प्रष्फुटन भएको देख्न पाईन्छ । अस्पताल बसाईं, त्यहाँको व्यवहार, चर्को रकम असुलीलाई केही क्षण भएपनि बिर्साइदिन्छ अन्य बिरामी र तिनका आफन्तजनसँगको भलाकुसारीले । सँसार त्यस्तो निर्दयी भईसकेको छैन, मानवता जीवितै छ भन्ने आभाष हुन्छ । असल व्यक्तिले आफ्नो धर्म निर्वाह गर्दा थप क्षति हुनबाट रोकिन सक्छ भन्ने पाटोलाई पनि एक युवा डाक्टरको नैतिक सहयोगले दर्शाउँछ ।

अभिनय र निर्देशकीय क्षमताः
मूलपात्र सुरक्षा पन्तले आफ्नो भूमिकालाई न्याय गरेकी छिन् । त्यस्तै मिथिला शर्माको अभिनय पनि जीवन्त रहेको छ । सरिता गिरीको अभिनय प्रशंसनीय छ । प्राकृतिक रुपमै पानी परेको सिन खिच्न खोज्दा चलचित्रको लागत केही बढेको भएपनि निर्देशक दिपेन्द्र के. खनालले सही निर्णय लिएको भान हुन्छ । आरती र उनकी श्रीमान्को अन्तरङ्गको दृश्य लामो लाग्न सक्छ । चलचित्र अवधिकर हाँस्ने एउटा मात्रै दृश्य छ तर हाँस्न नपाउँदै त्यसैले भावुक बनाईहाल्छ ।

चलचित्र किन हेर्ने त ?
के म रुनको लागि चलचित्र हेर्न हलसम्म जाने हो त ? अवश्य पनि होईन । सबैजना रुन्छन् भन्ने पनि होईन । तर पहिलोपटक धेरै दर्शक विशेषगरी महिलावर्गहरु नेपाली चलचित्र हेरेर साँच्चिकै रोईरहेको प्रत्यक्ष देखें । जीवनमा दुख नभोगिसेकेको मानिसलाई चलचित्रले त्यति नछुन सक्छ अथवा रुनैपर्छ भन्ने पनि होईन । तर नेपाली चलचित्रको स्तर नै भएन भनेर तपाई स्तरको खोजीमा हुनुहुन्थ्यो र यो चलचित्र हलमा गएर हेर्न छुटाउनु भयो भने पछि मनमा चुकचुक हुन सक्छ । यदि तपाई निरज घेवानको मसान र सुभाषिस भुटियानीको मुक्ति भवन जस्ता हिन्दी चलचित्रहरुको पारखी हुनुहुन्छ भने त्यस्तै स्वाद र जीवन्त अभिनय आमा मा पाउनुहुनेछ ।

फेरिँदै चलचित्रको परिभाषाः
चलचित्र चलाउनका लागि गरिने पब्लिसिटी स्टन्ट, मारपिट÷एक्सन, चकलेटी अनुहार भएका हिरो र औचित्यहीन भूमिका भएकी हिरोईन वा टेलिचलचित्रमा हेरे जस्तो आजित भईसकेको मुख बङ्गयाएको कमेडीले नेपाली दर्शकलाई भड्काउँदै गईरहेको परिस्थितिमा आमा चलचित्रले त्यसलाई पुनःपरिभाषित गर्न खोजेको छ । सामान्य कथामा जीवन्त अभिनय जहाँ एक युवतीले आफूलाई सुरक्षा पन्त ठानेर कथासँग बग्छिन्, एक आमाले आफूलाई मिथिला शर्मा वा सरिता गिरी ठानेर कथासँग बग्छिन् वा एक पुरुषले ज्वाईंसँगै छोराको भूमिका पनि निभाउनुपर्दा आफूलाई स्क्रिनमा देख्छ; यो नै चलचित्रको सफलताको कडी हो भन्दा अत्युक्ति नहोला ।

 
 
  
 

You may also like