जसले दिँदैछिन् प्रधानमन्त्रीलाई मिर्गौला

काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा अघिल्लो आइतबार छुट्टै रौनक थियो । फागुन ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन परेकाले प्रधानमन्त्री सचिवालयका सदस्यहरू भेला भएका थिए ।

उनलाई जन्मदिनको शुभकामना दिँदै सानो केक पनि काटेका थिए । प्रधानमन्त्री निवासमा प्रायः देखिइरहने एक महिला पनि त्यहाँ उपस्थित थिइन् । केही समययता प्रधानमन्त्री निवासमा बाक्लै आउजाउ गरिरहेकी ती महिला नातेदार हुन् भन्नेबाहेक सचिवालयमै कार्यरत धेरैलाई उनको परिचय थाहा थिएन ।

त्यस दिन भने प्रधानमन्त्री ओली आफैंले ती महिलाको परिचय गराए । सचिवालयका उपस्थित सदस्यहरूलाई ओलीले भने, ‘मलाई मिर्गौला दिने उनी नै हुन् ।’

प्रधानमन्त्रीले सचिवालयका सदस्यहरूलाई मिर्गौला दाताका रूपमा चिनाइएकी ३२ वर्षीया ती महिला झापाकी हुन् । नातामा उनी ओलीकी ‘भान्जी’ पर्छिन् । नयाँदिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालमा लगभग १३ वर्षअघि प्रत्यारोपित मिर्गौलालाई शरीरले अस्वीकार गरेसँगै प्रधानमन्त्री ओली नयाँ प्रत्यारोपण गर्ने निष्कर्षमा पुगेका थिए ।

त्यसपछि सम्भावित दाता खोज्न थालिएको थियो । त्यसक्रममा प्रधानमन्त्री ओलीको ससुरालीतर्फबाट नाता पर्ने एक जना र घरतर्फबाट नाता पर्ने अर्को गरी दुई महिलाको विस्तृत स्वास्थ्य परीक्षण गरिएको थियो  ।

ससुरालीतर्फ नाता पर्ने ललितपुरकी महिला ५० वर्ष उमेर कटेकी र उनको मिर्गौलामा पनि केही समस्या देखिएकाले घरतर्फबाट नाता पर्ने झापाकी महिलाबाट मिर्गौला लिने निष्कर्षमा चिकित्सकहरू पुगेका हुन् ।

झापा, चारआलीकी ३२ वर्षीया ती महिला पहिले ओलीलाई मिर्गौला दिने अन्जान घिमिरेकी भान्जी हुन् । त्यस हिसाबले उनी प्रधानमन्त्रीकी पनि ‘भान्जी’ नाता पर्ने पारिवारिक स्रोतहरूको भनाइ छ । अन्जान प्रधानमन्त्री ओलीकी भाइबुहारी हुन् । ओलीका भाइ तारा ओलीकी श्रीमती उनी राष्ट्रपति कार्यालयमा कार्यरत छिन् ।

स्रोतका अनुसार भान्जी पर्ने महिलाको दाहिनेतर्फको ‘१०.२ बाई ३.८ सीएम’ आकार रहेको मिर्गौला झिकेर प्रधानमन्त्री ओलीमा प्रत्यारोपण गरिने छ । उनको देब्रेतर्फको मिर्गौलामा निकै मसिना सिस्ट (फोका) देखिएकाले दाहिने मिर्गौला प्रधानमन्त्रीका लागि उपयुक्त हुने निष्कर्षमा चिकित्सकहरू पुगेको स्रोतको दाबी छ ।

दाता महिलाको गतसाता नै सबै शारीरिक परीक्षणहरू सकिएको छ । उनको र प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था प्रत्यारोपणका लागि अनुकूल रहेकाले चिकित्सक टोली बुधबारै प्रत्यारोपण गर्ने निर्णयमा पुगेको हो । कान्तिपुर दैनिकबाट

 

 
 
  
 

You may also like