कोरोना भाइरस असर : फागुन २४ देखि अन-अराइभल भिसा नदिइने

काठमाडौं । सरकारले फागुन २४ गते (मार्च ७) देखि सम्पूर्ण मुलुकका लागि ‘अन अराइभल’ भिसामा रोक लगाएको छ ।

कोरोना भाइरसको प्रकोपलाई दृष्टिगत गर्दै सरकारले उक्त भिसामा रोक लगाएको हो । नेपालले १३ मुलुकका नागरिकलाई त्रिभुवन विमानस्थलबाट अन अराइभल भिसा उपलब्ध गराउँदै आएको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठित कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिको आइतवार बसेको बैठकले नेपाल आउने सबै विदेशीले निरोगिताको प्रमाणपत्र देखाउनुपर्ने निर्णय पनि गरेको छ ।

साथै नेपाल भ्रमण वर्ष २०२० पनि स्थगित गर्ने सरकारको तयारी छ । आइतवार बसेको मन्त्रिपरिषद्को बैठकमा भ्रमण वर्ष स्थगित गर्ने बारेमा छलफल भएको थियो ।

त्यस्तै, सरकारले नेपाली नागरिकलाई चीन, जापान, दक्षिण कोरिया, इरान तथा इटालीलगायत कोरोना प्रभावित मुलुकको भ्रमणमा रोक लगाउने भएको छ । साथै संक्रमण फैलिएका मुलुकमा अनावश्यक यात्रा नगर्न पनि नेपालीलाई आग्रह गरेको छ । आर्थिक अभियान दैनिकबाट

 
 
  
 

You may also like