कोभिड–१९ का बिरामी भेटिए छैन उपचारका लागि आइसियू

by समतल अनलाइन

काठमाडौं। कोरोना भाइरसको संक्रमण विश्वव्यापी चुनौती बनेको छ ।
छिमेकी देश चीनबाट फैलिएको कोरोना नेपालीको उल्लेख्य उपस्थिति भएका मुलुकसम्म पुगिसकेको छ ।

४० हजारभन्दा बढी नेपाली रहेको दक्षिण कोरियामा कोभिड–१९ का बिरामी तीव्रदरमा बढिरहेका छन् । तर, नेपालमा संक्रमित भेटिँदा वा बाहिरबाट ल्याउनुपर्दा उपचार गर्ने आइसियू बेड छैनन् ।
सरकारले टेकु, पाटन, वीर, त्रिवि शिक्षण र सिभिल अस्पताललाई कोरोना संक्रमितको उपचारका लागि तयारी अवस्थामा बस्न ११ माघमै निर्देशन दिएको थियो । तर, कुनै पनि अस्पतालले व्यवस्थापन गर्न सकेका छैनन् । अस्पतालका आइसियू बेड अन्य बिरामीले भरिएका छन् ।

सरकारले प्राथमिक उपचारका लागि चारवटा आइसियू बेड भएको टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल तोकेको थियो । तर, अस्पतालका बेड एचआइभी र मौसमी फ्लुका बिरामीले भरिएका छन् । ‘हाम्रोमा भएका चारवटै आइसियू बेड बिरामीले भरिएका छन्,’ टेकु अस्पतालका प्रशासन प्रमुख रूपनारायण खतिवडाले भने ।

वीरमा पनि ११ वटै आइसियू बेड अन्य बिरामीले भरिएका छन् । वीरका निर्देशक डा. केदार सेन्चुरीले आइसियू तत्काल खाली गर्न नसकिने बताए । ‘वीरमा अहिल्यै आइसियू खाली गर्न सकिँदैन,’ डा. सेन्चुरीले भने, ‘गम्भीर बिरामी आइहाले दुई वटासम्म व्यवस्थापन गर्न सकिएला ।’ कोरोनाका बिरामी आए भन्दैमा आइसियूमा मृत्युसँग लडिरहेका गरिब र विपन्न बिरामी हटाउन नसकिने अन्य चिकित्सकहरू बताउँछन् ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पनि कोरोना संक्रमितका लागि छुट्टै आइसियूको व्यवस्था गरिएको छैन । सञ्चालनमा रहेका ११ वटै आइसियू बेडमा अन्य बिरामी रहेको अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले बताए । सरकारले तयार रहनु भन्दैमा भएका बिरामी निकाल्न नसकिने अस्पतालले जनाएको छ ।

सिभिल अस्पताल पनि कोरोना संक्रमित बिरामीलाई आइसियूमा राखेर उपचार गर्न तयारी अवस्थामा छैन । अन्य बिरामीको ज्यान जोखिममा राखेर कोरोना संक्रमितलाई आइसियूमा भित्र्याउन नसकिने अस्पताल निर्देशक डा. दीर्घराज आरसी बताउँछन् । ‘कोरोनाका बिरामीको उपचार गर्न छुट्टै अस्पताल चाहिन्छ । र सरकारले अस्पताल बनाउँदै गरेको पनि सुनेका छौँ,’ डा. आरसीले भने, ‘सिभिलका पाँच आइसियू बेड चौबीसै घन्टा भरिएका हुन्छन् ।

कोरोनाका बिरामी राख्न तिनलाई कसरी हटाउन सकिन्छ ?’ सरकारको निर्देशनपछि अस्पतालले साधारण तीन बेड भने तयार गरेको उनले बताए । त्यसबाहेक आवश्यक परे सरकारले अन्यत्र लैजाने आरसीको भनाइ छ ।

कोरोना संक्रमितको उपचार गर्न भेन्टिलेटर, अक्सिजन सिलिन्डर, मोनिटरलगायत उपकरणसहितको छुट्टै आइसोलेसन बेड आवश्यक पर्छ । तर, सरकारले तोकेका अस्पतालका आइसियू नियमित बिरामीले नै भरिएका छन् । सरकारले अन्यत्र छुट्टै व्यवस्था पनि गर्न सकेको छैन । नयाँ पत्रिका दैनिकबाट

 

 
 
  
 

You may also like