चीन पठाइने जहाजको चालक दलका सदस्यहरूलाई यस्तो तालिम

by समतल अनलाइन

काठमाडौं । चीनमा रहेका नेपाली ल्याउन जाने जहाजको चालक दलका १६ सदस्यलाई स्वास्थ्य मन्त्रालयले बुधबार तालिम दिँदैछ ।

११ पुरुष र पाँच महिला रहेको चालक दलका सदस्यलाई कोरोना भाइरसको संक्रमणबाट जोगिन तथा जहाजमा अपनाउनुपर्ने सुरक्षाका विषयमा ‘फिजिकल प्रोटेक्टिभ इक्युपमेन्ट’ तालिम दिन लागिएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. हेमन्त ओझा नेतृत्वको टोलीले उनीहरूलाई तालिम दिनेछ । चालक दलका सदस्यहरूको नाम गोप्य राखिएको छ । त्यस्तै, बिहीबार विमानस्थलमा जहाजको बाहिरी काममा खटिने कर्मचारीलाई तालिम दिने मन्त्रालयको तयारी छ ।

सरकारले चीनको हुबेई प्रान्तका विभिन्न स्थानमा रहेका एक सय ८० नेपाली लिन शनिबार नेपाल वायुसेवा निगमको एयरबस ३३०–२०० सिरिजको दुई सय ७४ सिटे जहाज वुहान पठाउँदै छ । जहाजमा दुई चिकित्सक, दुई नर्स र एक पारामेडिक्स रहेको चिकित्सक टोली पनि जानेछ । उनीहरूसहित चीनबाट ल्याइएका नागरिकको उपचारमा संलग्न हुने ८६ स्वास्थ्यकर्मीलाई सोमबार डा. ओझाको टोलीले तालिम दिएको थियो ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चीनबाट ल्याइने नेपाली राख्न सुरक्षित स्थान (क्वारेन्टाइन) मा एक सय ९९ बेड तयार पारिएको बताए । ‘चीनमा रहेका नेपालीलाई स्वदेश ल्याएर १४ दिन क्वारेन्टाइनमा राखेर संक्रमण भए–नभएको जाँचबुझ गरिन्छ । रोग नलागेको पुष्टि भएपछि मात्रै घर पठाइन्छ,’ मंगलबार संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा उनले भने ।समितिले चीनमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिएको लामो समय बितिसक्दा पनि उद्धारका लागि तत्परता नदेखाएको भन्दै समितिले यस्तो निर्देशन दिएको हो । ‘यो संक्रमणले जुनसुकै वेला पनि पिरोल्न सक्छ । त्यसैले दुई–चार दिनभित्रै चीनमा रहेका नेपालीलाई स्वदेश ल्याउनुपर्छ । अब ढिलो नगर्न निर्देशन दिएका छौँ,’ समिति सभापति जयपुरी घर्तीले भनिन् ।

सम्भावित संक्रमितका लागि बेड, क्वारेन्टाइन, उपचारलगायत विषयमा सरकारले सम्पूर्ण तयारी गरिसकेको मन्त्री ढकालले बताए । ‘एयरपोर्टसम्म जाने, ल्याउने, उनीहरूलाई व्यवस्थापन गर्ने जनशक्ति र अस्पताल पनि तयार भइसक्यो,’ उनले भने, ‘विमानस्थलमा जाँच गर्दा ज्वरो आएको पाइए टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा भर्ना गरिनेछ ।’

यसैबीच स्वास्थ्य मन्त्रालयले मंगलबार पाटन, वीर, शिक्षण, सिभिल र सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रमुखहरूलाई तयारी अवस्थामा बस्न निर्देशन दिएको छ । ‘अब फेरि बोलाएर जानकारी लिने–दिने समय नहुने भएकाले तयारी अवस्थामा बस्न निर्देशन दिइएको हो,’ मन्त्रालयको आपत्कालीन तथा विपत् व्यवस्थापन इकाइ प्रमुख सागर दाहालले भने । सरकारले देशभरका ३६ अस्पतालमा एक सय ४७ बेड भएको आइसोलेसन वार्ड तयार गरेको छ । नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like