‘सुनकोशी-तेस्रो’ को प्रतिवेदन अन्तिम चरणमा

by समतल अनलाइन

काठमाडौं । सुनकोशी–तेस्रो जलाशययुक्त विद्युत् आयोजना निर्माण प्रक्रियाको मापदण्ड तथा कार्यविवरण प्रतिवेदन (टिओआर) अन्तिम चरणमा पुगेको छ । दुई परामर्शदाता कम्पनीले उक्त प्रतिवेदन विद्युत् विकास विभागलाई एक हप्ताभित्र बुझाउने छन् ।

सुनकोशी–तेस्रोको टिओआर एक नेपाली र एक चिनियाँ परामर्शदाताले अन्तिम चरणमा पुर्‍याएको विभागका इन्जिनीयर सुवास थपलियाले बताए । उनका अनुसार परामर्शदाताले उक्त टिओआर विभागलाई एक हप्ताभित्र बुझाउने समयसीमा रहेको छ । प्रतिवेदनमा आयोजनाबाट प्रत्यक्ष एवं अप्रत्यक्ष प्रभावित घर परिवार तथा क्षेत्र र प्रभावितलाई कुन आधारमा क्षतिपूर्ति दिन सकिन्छ भन्ने विषय समेत उल्लेख हुने थपलियाले बताए ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयद्वारा संयुक्त रुपमा सुनकोशी–३ जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) का लागि हालै मात्र क्षेत्र निर्धारणका लागि गत कात्तिक पहिलो सातादेखि प्रक्रिया शुरु गरिएको हो । आयोजनाबाट प्रभावित पर्नसक्ने जिल्ला, नगरपालिका तथा गाउँपालिका र वडास्थित त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्य चौकी, सरोकारवाला व्यक्ति तथा सङ्घसंस्थाबाट सुझाव समेत मागिएको छ ।

वाग्मती प्रदेशअन्तर्गत काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली जिल्लाको सीमाना भएर बग्ने सुनकोशी नदीमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–९ को सीमाना र रामेछापको खाँडादेवी गाउँपालिका–१ लुभूघाटमा विद्युत् आयोजनाको बाँध निर्माण प्रस्ताव गरिएको छ । प्रस्तावित आयोजना सुनकोशी–३ बाट ५३६ मेघावाट विद्युत् उत्पादन हुनेछ ।

विभागका अनुसार सुनकोशी–३ का लागि लुभुघाटस्थित नदीमा करीब ४८४ मिटर लामो र १६६ मिटर उचाइको बाँध निर्माण गरी ५७० घनमिटर प्रतिसेकेण्ड पानीलाई एक दशमलब एक किलोमिटर लामो र नौ मिटर ब्यास भएको सुरुङबाट लुभुघाट नजीक निर्माण गरिने विद्युत गृहमा लगिनेछ भने लगभग ५३६ मेघावाट विद्युत् उत्पादनपछि सो पानीलाई टेलरेसद्वारा पुनः सुनकोशी नदीमा खसालिने छ । आयोजना निर्माण गर्दा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली जिल्लाका करीब एक हजार ६०० परिवार प्रभावित हुनसक्ने थपलियाले बताए ।

आयोजनाबाट सिन्धुपाल्चोेकको तीन गाउँपालिका र दुई नगरपालिका, काभ्रेपलाञ्चोकको तीन गाउँपालिका र दुई नपा, रामेछापको दुई गाउँपालिका र सिन्धुलीको एक गाउँपालिकाका बासिन्दा प्रभावित हुनेछन् । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाका आठ वडा बाँध, विद्युत गृह र डुबान क्षेत्रमा पर्नेछ भने रामेछापको खाँडादेवी गाउँपालिका बाँध र डुबान क्षेत्रमा तथा अन्य जिल्लाको प्रभावित क्षेत्र डुबानमा पर्नेछ ।

वातावरण संरक्षण ऐन २०५३ तथा वातावरण संरक्षण नियमावली २०५४ को नियम ४ (१), अनुसूची–२ बमोजिम इआइए प्रतिवेदन तयार गर्दा प्रभावित भनिएका क्षेत्रमा भौतिक, जैविक तथा सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रसँग सम्बन्धित सवालका विषयमा प्रस्ताव कार्यान्वयन हुने क्षेत्रमा ‘राय–सुझाव’ लिनुपर्ने भएकाले समयसीमा तोकेर ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयद्वारा संयुक्त रुपमा सार्वजनिक रुपमा अपिल गरेका छन् ।

सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आयोजनाबाट प्रभावित हुने परिवारलाई स्थानान्तरण गर्ने विषयमा छलफल भइरहेको बताए । शहरी विकासमन्त्री समेत रहेका उनी भन्छन्, ‘वर्षौंको पर्खाइपछि गौरवको योजना सञ्चालन हुँदा काभ्रेपलाञ्चोकवासी खुशी हुनु सुखद विषय रहेको छ ।’ उनका अनुसार उक्त स्थानमा जलाशययुक्त विद्युत् आयोजना बन्दा माछापालन, बोटिङ, पर्यटकीय होटल तथा थप पर्यटकीयस्थल विकासको सम्भावना रहन्छ ।

त्यसो त गत साल चैतमा काठमाडौंमा सम्पन्न दोस्रो लगानी सम्मेलनमा सुनकोशी–तेस्रो जलाशययुक्त विद्युत् आयोजनालाई समावेश गरिएको थियो । आयोजनामा पहुँच मार्ग पुगिसकेको छ भने प्रसारण लाइनको समस्या नदेखिएको बताइन्छ । प्रस्तावित आयोजना निर्माणस्थल काठमाडौंबाट ६० किलोमिटरको दूरीमा छ ।

सन् १९८५ मै जापान इन्टरनेशनल कोअपरेशन (जाइका) ले सम्भाव्यता अध्ययन गरेको थियो । जाइकाले नेपालमा अध्ययन गरेका १० उत्कृष्ट जलाशययुक्त विद्युतमध्ये सुनकोशी तेस्रो एक हो । विसं २०२२ मा पनौतीमा नेपालकै तेस्रो जलविद्युत् आयोजना (दुई दशमलब चार मेघावाट क्षमता) निर्माणपश्चात् प्रस्तावित सुनकोशी–३ जलाशययुक्त विद्युत् आयोजना काभ्रेपलाञ्चोककै दोस्रो आयोजना हुनेछ ।

 
 
  
 

You may also like