सैनामैनामा तीनसय बिघामा लुम्बिनी सांस्कृतिक नगर बनाइंदै

by समतल अनलाइन

बुटवल। सैनामैना नगरपालिकामा लुम्बिनी सांस्कृतिक नगर निर्माण गरिने भएको छ । नगरपालिकाको वडा नंं ८ र ६ मा पर्ने पटना, भड्छा र मलमला क्षेत्रको तीनसय बिघा क्षेत्रफलमा एकिकृत जग्गा विकास योजना (ल्याण्ड पुलिङ) गरी आधुनिक र सुविधासम्पन्न लुम्विनी साँस्कृतिक शहर निर्माण गर्ने नगरपालिकाको योजना छ । यसका लागि नगरप्रमुख चित्रबहादुर कार्कीको संयोजकत्वमा नगर विकास समिति गठन भएको छ । सार्वजनिक–नीजि–साझेदारी मोडलमा सांस्कृतिक नगर निर्माणको अवधारणा अघि सारिएको कार्कीले बताए । नगरपालिकाले शहरी विकास मन्त्रालय, प्रदेश नं ५ को आर्थिक मामिला तथा योजना मन्त्रालय र नगर विकास कोषसँगको सहकार्यमा एकिकृत जग्गा विकास योजना अघि बढाउने भएको छ । ‘सैनामैना लुम्बिनीकालीन प्राचीन नगर समेत भएकाले सांस्कृतिक नगर निर्माण गर्ने योजना अघि सारिएको हो’–नगरपालिकाको छैठौं नगरसभामा बोल्दै नगर प्रमुख कार्कीले भने–‘लुम्बिनी सांस्केतिक नगर निर्माणमा प्रदेश र संघीय सरकारबाट सहयोग गर्ने प्रतिवद्धता आएको छ ।’ सांस्कृतिक नगरभित्र लुम्बिनीसंग सम्बन्धित सम्पदा झल्किने भौतिक पुर्वाधार (भवनहरु), बौद्धकालीन बंगैंचा, विशिष्टीकृत सेवा सहितको अस्पताल, पांचतारे होटल, सपिङ मल, स्मार्ट बसपार्क लगायतका पुर्वाधारहरु बनाइने छ । यसको लागि प्रारम्भिक परियोजना प्रस्ताव तयार भैइरहेको कार्कीले बताए । सैनामैनालाई पर्यटन हबका रुपमा विकास गर्न पुरातात्विक क्षेत्रको संरक्षण, पुरातात्विक वस्तुहरुको संकलन र ऐतिहासिक क्षेत्रहरुको संरक्षण भइरहेको पनि नगर प्रमुख कार्कीले बताए ।
नगरपालिकाको नगर गुरुयोजना तुर्जमा गरी नगरको अल्पकालीन, मध्यमकालीन तथा दीर्घकालीन विकासका लक्ष्यहरु निर्धारण गर्ने नीति लिइए अुनुरुप गुरुयोजना निर्माणको प्रारम्भिक प्रतिवेदन तयार गरि नेपाल सरकारमा पेश भइसकेको कार्कीले बताए । गुरुयोजनाले समेट्न नसकेका नगर यातायात गुरुयोजना, नगर प्रोफाइल,स्थानीय तहको सूचना प्रणाली,भू–उपयोग योजना नगरपालिकाबाटै परामर्शसेवा मार्फत तयार भइरहेका उनले बताए । आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति अनुरुप सार्वजनिक निजी साझेदारी अवधारणालाई कार्यान्वयन गर्न सार्वजनिक निजी साझेदारी ऐन जारी गरी लागु गरिएको उनले बताए । नगरको फोहोर मैला व्यवस्थापन र एकिकृत जग्गा विकास कार्यक्रमलाई सार्वजनिक, निजि, साझेदारी अवधारणा अनुरुप अघि बढाइएको उनले बताए । स्थायी रुपमा फोहोरमैला व्यवस्थापन गर्न सैनामैना वडा नं. १० को एक्ला पहाडमा रुपन्देही जिल्लाका १६ वटा स्थानीय तहको फोहोमैला व्यवस्थापन गर्न संयूक्त ल्याण्डफिल्ड साइट निर्माण परियोजनालाई सम्बन्धित निकायमा प्राथमिकता प्राप्त योजनामा समावेश गरि नेपाल सरकार विशेष अनुदान तर्फ रु ४ करोड ५० लाख विनियोजन भई कार्यान्वयनको चरणमा रहेको नगर प्रमुख कार्कीले बताए । नगरभरिका सम्पूर्ण सडक सञ्जालहरुको वैज्ञानिक ढंगले सडक मापदण्ड कायम गरि नगर सडक यातायात गुरुयोजना सम्पन्न हुने अन्तिम चरणमा रहेको उनले बताए ।
जेष्ठ नागरिकलाई संरक्षण प्रदान गर्न सैनामैना वडा नं. १ को योग तथा प्राकृतिक चिकित्सा केन्द्रको निकट पर्ने गरी प्रदेश नं. ५ स्तरीय सुविधा सम्पन्न जेष्ठ नागरिक ग्राम निर्माणार्थ प्रदेश सरकार मार्फत निर्माण कार्य अगाडि बढाइएको उनले बताए ।
आ.व. २०७३÷०७४ सम्म सैनामैना नगरभित्र जम्मा ५० कि.मि सडक कालोपत्रे रहेकोमा हालसम्म ७२ कि.मि निर्माण सम्पन्न भइसकेको र चालु आ.व. २०७६÷०७७ को अन्त्य सम्ममा ९० कि.मि सडक कालोपत्रे सम्पन्न गरिसक्ने कार्कीले बताए । नगरपालिकाले नयां कालोपत्रे सडक निर्माण र पुराना कालोपत्रे सडकहरुको संरक्षणमा आधुनिक र उच्च प्रबिधियुक्त सडक निर्माण गरी सडकको दिगोपना र मर्मत खर्चमा कटौती गर्न परम्परागत प्रबिधियुक्त प्रि मिक्स कार्पेटको सट्टा आधुनिक अस्फाल्ट कंक्रिट प्रबिधि प्रयोग भइरहेको बताए । हालसम्म २ हजार ८ सय ७१ मिटर अस्फाल्ट कंक्रिट सडक निर्माण भइसकेको बताए । आगामी ५ बर्ष भित्र बाकी रहेको २७५ कि.मि सडक कालोपत्रे गरिसक्ने लक्ष्य रहेको बताए । तचालु आ.व. मा ४ सय ४२ योजनाहरु रहेकोमा १ सय १६ वटा योजनाहरुको उपभोक्ता समिति गठन भइसकेका र ९३ वटा योजनाहरुको सम्झौता भइसकेको कार्कीले बताए । प्रदेश सरकारबाट नगरपालिकालाई प्राप्त अनुदानबाट ३ करोड ८० लाख बराबरको पूर्वाधार, नेपाल सरकार मार्फत ७ करोड २ लाख र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत क्षेत्र नं. २ मा १ करोड ५० लाख तथा क्षेत्र नं. ५ मा १ करोड ४० लाख बराबरका भौतिक पूर्वाधार निर्माणका कार्य यसै वर्ष सम्पन्न हुने कार्कीले बताए । यातायात सेवालाई व्यवस्थित गर्न वडा नं. १० सालझण्डीमा स्थायी रुपमा बसपार्क सञ्चालनको लागि निर्माण कार्य भइरहेको बताए ।
खेलकुद क्षेत्रमा योगदान पु¥याउने उद्देश्यले वडा नं. ३ मा इन्डोर सहितको कवर्ड हल निर्माण सम्पन्न भएको र वडा नं. ६ मा रु. ७० लाखको लागतमा इन्डोर सहितको थप कवर्ड हल निर्माण यसै आर्थिक वर्षमा सम्पन्न गरिने कार्कीले बताए ।

वडा नं. ७ को लम्टैयामा रहेको गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदानलाई स्तरोन्नती गरी प्रदेश र राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्नसक्ने गरी नेपाल सरकारबाट वजेट विनियोजन भई पूर्वाधार निर्माण भइरहेको र एक नगर एक खेल ग्राम अन्तर्गत मुर्गियामा राष्ट्रिय स्तरको फूटवल स्टेडियम निर्माणको लागि नेपाल सरकारबाट वजेट विनियोजन भएको बताए ।

सामुदायिक वन क्षेत्रको संरक्षणका लागि यस वर्ष ३ कि.मि. तारबार गरिने र १ लाख ५० हजार विरुवा रोपण गर्ने कार्यक्रम रहेको र लोकमार्गबाट उत्तरतर्फ रहेका काठ तथा फर्निचर उद्योगहरुलाई लोकमार्गको दक्षिणतर्फ स्थानान्तरण गर्ने कार्यक्रम रहेको कार्कीले बताए ।

स्थानीय सरकारलाई प्रदत्त अधिकार क्षेत्रको अधिनमा रही विषयगत ऐन, कानुनहरु तर्जुमा गर्ने कार्यलाई प्राथमिकता दिदै यस वर्ष २३ वटा ऐन, २७ वटा नियमावली तथा कार्यविधि र निर्देशिका गरी हाल सम्म जम्मा ५० वटा ऐन कानुनहरु निर्माण भएका कार्कीले बताए ।

गत वर्ष नेपाल सरकारबाट घोषित नयाँ पर्यटकीय गन्तव्यको सूचिमा सैनामैना नगरपालिका क्षेत्र परेकोमा उक्त कार्यक्रमबाट प्राप्त हुने रु. ५० लाख र नगरपालिकाको रु. २० लाख गरी ७० लाखको लागतमा सैनामैना क्षेत्रको ऐतिहासिक एवम् पुरातात्विक स्थलहरुको संरक्षण र पूर्वाधार विकासमा खर्च गर्ने कार्ययोजना बनाइएको कार्कीले बताए । सामुहिक आवासको लागि नेपाल सरकार र नगरपालिकाको लागत सहभागितामा गत आ.व. मा वडा नं. ११ स्थित उत्तर बरौलीमा रु. १ करोड १० लाख को लागतमा नमूना वस्ति निर्माण गरिएकोमा यस वर्ष थप १ करोड ३ लाख को लागतमा थप निर्माण कार्य गरिने,वडा नं. ४ को लखनपारामा सार्वजनिक संस्कार भवन निर्माण कार्य आरम्भ गरिने उनले बताए ।

सैनामैना वडा नं. ३ मा अवस्थित लामि रहको बहुउद्देश्यीय बाँध एवं जलासय निर्माणको लागि डिपिआर तयार गर्न यस वर्ष राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति मार्फत ६५ लाख विनियोजन भइ काम अगाडि बढेको कार्कीले बताए । सैनामैनाको छैठौं नगरसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै नगर प्रमुख चित्रबहादुर कार्कीले नगरको आन्तरिक आय बृद्धिमा महत्वपूर्ण उपलब्धी हासिल भएको बताएका छन् । आन्तरिक स्रोततर्फ चालु आर्थिक वर्षमा १३ करोड १५ लाख ५५ हजार राजस्व असुली लक्ष्य रहेकामा ६ महिनामा ४ करोड २९ लाख ९३ हजार असुली भएको जानकारी गराए । चालु आर्थिक वर्षमा १३ करोड १५ लाख लक्ष्य रहेकामा सजिलै लक्ष्य हासिल हुने पनि उनले बताए । नगरको आन्तरिक स्रोत परिचालनमा महत्वपूर्ण उपलब्धी हासिल गरिएतापनि सेवा शुल्क र करको दरमा भने बृद्धि नगरिएको मेयर कार्कीले स्पष्ट पारे ।

करको दरमा नभई करको दायरा बृद्धि गरिएको बताउंदै उनले समृद्ध नगर निर्माणका लागि जनतालाई अभिप्रेरित गरिएको उल्लेख गरे । नगरले एकीकृत वैज्ञानिक कृषि प्रणालीलाई लागु गर्ने नीति लिएको जानकारी गराउंदै कार्कीले सैनामैना–३ मा ५० लाख रुपैयां लागतमा स्मार्ट पोल्ट्री फार्म,वडा नं ११मा टालीमा कृषि गाउं स्थापना,वडा नं ६ भरतपुर सुखौरामा २५ लाख लागतमा व्यवसायिक बाख्रापालन योजना अघि बढाइएको कार्कीले बताए । कृषिमा उत्पादन बृद्धिका लागि बिउबिजन,मल र प्राविधिक सहयोग नगरवासीलाई वितरण गरिएको उनले बताए । नगर सभामा उपप्रमुख विना राना र प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले आफ्ना भनाई राखेका थिए ।

साग विजेता कार्की र उत्कृष्ट विद्यार्थी सम्मानित

नगर सभाको अवसरमा साग प्रतियोगितामा करातेतर्फ स्वर्ण पदक विजेता सैनामैना ६ की सरु कार्कीलाई नगद २५ हजार र नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयका १३ जना विद्यार्थीलाई नगद ५ हजारका दरले सम्मान गरिएको थियो ।

 
 
  
 

You may also like