भ्रमण वर्ष २०२० को भव्य उद्घाटनको तयारी

by समतल अनलाइन

काठमाडौ । सरकारले राष्ट्रिय महोत्सवकै रुपमा मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष २०२०’ औपचारिक शुरु हुन दुइ दिन मात्रै बाँकी छ । सन् २०२० जनवरी १ तारिखका दिन (पुस १६ गते) काठमाडौको दशरथ रङ्गशालामा विशेष समारोहसहित भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नेछिन् भने सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने भ्रमण वर्ष सचिवालयले जनाएको छ ।

सचिवालयका सदस्य सचिव बच्चु श्रेष्ठले बुधबार (१६ गते) दिउँसो १ बजे ठमेलबाट विभिन्न झाँकी सहित र्याली शुरु हुने बताए । नेपालको मौलिक सांस्कृतिक पहिचान झल्कने झाँकी सहित हुने र्यालीमा पर्यटन व्यवसायी, विदेशी पाहुना, सरकारको उपस्थिति हुने उनको भनाइ छ ।

उद्घाटन कार्यक्रममा मार्चपास समेत हुने श्रेष्ठले बताए । यस्तै विविध सांस्कृतिक प्रस्तुति समेत हुनेछ । मार्चपास तथा र्यालीमा राष्ट्रिय झण्डाका साथै सम्बन्धित संस्थाको झण्डा समेत प्रयोग गर्न सकिने सचिवालयले जनाएको छ । उद्घाटन समारोह दिउँसो ३ बजे शुरु हुनेछ ।

पछिल्लो समय भ्रमण वर्षलाई भव्य बनाउनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराई निकै खटिइरहेका छन् । भ्रमण वर्षकै सन्दर्भमा पछिल्ला दिनमा मन्त्री भट्टराईले राजधानी र प्रदेशस्तरमा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसँग छलफल गरी अभियानलाई सफल पार्न सक्रियता जनाइदिन आग्रह गरेका छन् ।

शनिबार साँझ मात्रै पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन वे निर्माणपछि चिनियाँ कम्पनीले हस्तान्तरण कार्यक्रममा भ्रमण वर्षलाई भव्य र सभ्य बनाउन जोड दिएका थिए । यसका लागि विमानस्थल २४ घण्टा सञ्चालन गर्न समेत निर्देशन दिएका थिए । पर्यटन मन्त्रालय, भ्रमण वर्ष सचिवालय र बोर्डले भ्रमण वर्ष उद्घाटन भव्य बनाउने तयारीमा जुटिरहेको मन्त्रालयका सहसचिव तथा प्रवत्ता रुद्रसिं तामाङले जानकारी दिए ।

७ मुलुकका पर्यटनमन्त्री

भ्रमण वर्षको उद्घाटन समारोहमा सरकारले ३९ मुलुकका पर्यटनमन्त्रीलाई आमन्त्रण गरेका थिए । तर, आइतबारसम्म ७ मुलुकका पर्यटनमन्त्री मात्रै आउने टुंगो लागेको छ । साथै, अन्य केही मुलुकका विशिष्ट पाहुनाहरु समेत सहभागिता हुने परराष्ट्र मन्त्रालयका सहसचिव रामप्रसाद सुवेदीले जानकारी दिए ।

‘अहिले यो र त्यो देशको पर्यटनमन्त्री नभनौं । आइतबारसम्म ७ जना विदेशी पर्यटन मन्त्रीहरु आउने निश्चित भएको छ,’परराष्ट्र मन्त्रालयका सह सचिव सुवेदीले नागरिक खबरसँग भने,‘हामीले समयमा नै पत्रचार गरेका थियौं । यसका लागि सम्बन्धीत दूतावससँग पनि सहकार्य गरेका थियौं । अझै दुइ दिन बाँकी छ ।’ उनले कुन कुन देशका पर्यटन मन्त्री आउने निश्चित भयो भन्ने विषयमा भने बोल्न चाहेनन् ।

५० अन्तर्राष्ट्रिय सञ्चारकर्मी

भ्रमण वर्षको उद्घाटन कार्यक्रममा ५० वटा अन्तर्राष्ट्रिय सञ्चारगृहका सञ्चारकर्मी सहभागी हुने नेपाल पर्यटन बोर्डले जनाएको छ । छिमेकी मुलुक भारत, चीन, बङ्गलादेश, युरोपलगायत मुलुकबाट प्रतिष्ठित सञ्चारमाध्यमको प्रतिनिधित्व हुने बोर्डले जनाएको छ ।

बोर्डले विदेशी पत्रकारलाई देशका महत्वपूर्ण पर्यटकीय गन्तव्यमा तीनदेखि पाँच दिनसम्मको भ्रमणको व्यवस्था समेत मिलाएको छ । भ्रमण वर्षको उद्घाटन समारोह १३ औं दक्षिण एशियाली खेलकूद (साग) पछि नेपालमा आयोजना हुने अर्को ठूलो अन्तर्राष्ट्रियस्तरको कार्यक्रम हुने पर्यटन व्यवसायीहरुले बताएका छन् ।

६१ करोड ७४ लाख बजेट

सरकारले हालै भ्रमण वर्षका लागि ६१ करोड ७४ लाख बजेट स्विकृत गरेको छ । भ्रमण वर्ष उद्घाटनका लागि भने दुई करोड खर्च हुने सचिवालयले जनाएको छ । रङ्गशाला भाडामा लिनुपर्दा दैनिक १५ लाख पर्नेछ । दुई तीन दिनअघि नै तयारी गर्नु पर्ने हुन्छ ।

 
 
  
 

You may also like