बेहुलीलाई सिन्दुर हाल्न खोज्दा जब ‘डाक्टर’ बेहुलाको हात उठेन …

by समतल अनलाइन

बेहुला पक्षले तिरे चार लाख जरिवाना
झापा, १ पुस । विवाह मण्डपमा रहेकी बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि बेहुलाले बेहुलीको परिवारलाई चार लाख रुपैयाँ जरिवाना तिरेका छन् । यो झापाको घटना हो ।

मंसिर २९ गते दिउँसोको लगनमा झापाको बुद्धशान्ति गाउँपालिका–२ का न्यौपाने थरकी एक युवतीसँग भद्रपुर नगरपालिका ७ का सुवेदी थरका एक युवकको वैवाहिक कार्यक्रम हुँदै थियो । वैवाहिक कार्यक्रमअनुसार बेहुलाले बेहुलीलाई सिन्दुर हाल्ने बेलामा बेहुलाको हात नचलेपछि बेहुली पक्षले विवाह अस्वीकार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) महेन्द्रकुमार श्रेष्ठका अनुसार विवाह मण्डपमै खैलाबैला मच्चिएर बेहुला पक्षले जन्ती लगेको गाडी नै तोडफोड गर्न खोजेपछि विवाह घरमै पुगेर प्रहरीले सुरक्षा दिएको थियो ।

बेहुला पक्षले बेहुली पक्षलाई झुक्याएर विवाह गरेको भन्दै विवाद उत्पन्न भएको थियो । बेहुलाको हात नचलेपछि उनी शारीरिक अपाङ्गता भएको व्यक्ति रहेको भन्दै बेहुली पक्षले बेहुलाबाट चार लाख रुपैयाँ जरिवाना लिएका छन् । जसका लागि बुद्धशान्ति गाउँपालिकाकी उपप्रमुख मीर भुर्तेलसहितको टोलीले विवाद समाधानका लागि पहल गरेको प्रहरीले जनाएको छ ।

बेहुलाले आफू डाक्टर भएको भन्दै बेलुही पक्षलाई विवाहका लागि प्रस्ताव राखेको र उनी डाक्टर नभई निजी अस्पतालमा कार्यरत कर्मचारी रहेको बेहुली पक्षको आरोप छ । बेहुली पक्षले विवाहका लागि गरिएको खर्चको माग दाबी गर्दै बेहुला पक्षसँग चार लाख रुपैयाँ लिएको बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भुर्तेलले बताइन् ।

उनले भनिन्, ‘समाज बसेर विवाहको लागि भएको खर्चको हिसाब गरेको हो, यसमा गाउँपालिकाको कुनै हात छैन । विवाहको कुरा छिनेपछि बेहुला र बेहुली दुवै पक्षले सहमतिमै टीकाटाला नगरी एकै पटक विवाहका लागि राजी भएका थिए ।’

यसअघि पनि बुद्धशान्ति गाउँपालिकामा एक व्यक्तिको विवाह हुँदा यस्तै घटना घटेको थियो । विवाह लगत्तै बेहुलीलाई छाडेर बेहुला भाग्दा बेहुलीको परिवारलाई ३५ लाख रुपैयाँ क्षतिपूर्ति समाजले दिलाएको थियो । जसका लागि गाउँपालिकामा सहमतिका लागि छलफल भएको थियो ।

 

 
 
  
 

You may also like