नेपाल-बंगलादेश ऊर्जा समझौता : २० मेगावाट थप विद्युत् निर्यात हुने

by समतल अनलाइन
72Shares

काठमाडौँ ।नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छ । अहिलेसम्म ४० मेगावाट विद्युत् निर्यात भइरहेको थियो ।

बिहीबार ढाकामा बसेको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ७औं बैठकमा यो सहमति जुटेको हो । बैठकमा नेपालको तर्फबाट ऊर्जा सचिव चीरञ्जीवी चटौत र बंगलादेशको ऊर्जा सचिव फर्जना ममताजले नेतृत्व गरेका थिए।

बैठकमा सुनकोशी ३ जलविद्युत् आयोजनाको लगानी प्रक्रियामा अगाडि बढाउन बंगलादेशले आयोजना मूल्यांकनका लागि विशेषज्ञ समिति गठन गर्ने र जेभीए छिटो टुंग्याउने सहमति समेत भएको छ ।

नेपालबाट भारतीय ग्रिड हुँदै बंगलादेशको बरापुकारण, पञ्चगढ/ठाकुर गाउँ, भेरामारा र कोमिल्लासम्म विद्युत् निर्यात सम्भावनाको अध्ययन गर्ने सहमति पनि भएको छ।

नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता प्रवर्द्धनसम्बन्धी समझदारीपत्रमा आ-आफ्नो आन्तरिक प्रक्रिया पूरा गरी हस्ताक्षर गर्ने सहमति पनि भएको छ। उक्त सम्झौता अनुसार बंगलादेशले नेपाललाई ऊर्जा परीक्षण, ईभी चार्जिङ, रुफटप सोलारजस्ता क्षेत्रमा प्राविधिक सहायता दिने सहमति भएको छ।

नेपाल र बंगलादेशबीच क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने पनि सहमति भएको छ । बंगलादेशी पक्षका लागि पहिलो चरणको कार्यक्रम काठमाडौंमा र त्यसपछि नेपाली पक्षका लागि बंगलादेशमा आयोजना गरिनेछ।

You may also like