काठमाडौँ।गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी प्रतिनिधिसभा निर्वाचनको वातावरण सुरक्षित बनाउन सरकारले तीव्र गतिमा काम गरिरहेको जानकारी दिएका छन् । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उनले द्वन्द्व दोहोरिन नदिनका लागि आवश्यक कदमहरू प्रभावकारी रूपमा उठाइएको बताएका हुन् ।
उनले भने, ‘होस्टालिटीको अवस्था निरन्तर नहोस्। देशको विद्यमान कानुन जे छ त्यो शासन अनुसार यथावत् रूपमा चल्नुपर्छ । द्वन्द्व दोहोरिने कुरा धेरै हदसम्म हामीले अहिले काबु भित्र राखेका छौँ।’
गृहमन्त्री अर्यालले राजनीतिक दल र जेनजी समूहबीच संवाद भइरहेको जानकारी पनि समितिलाई दिए । उनले निर्वाचन निष्पक्ष र शान्तिपूर्ण बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै लुटिएका हतियार र फरार कैदी बन्दीको व्यवस्थापन प्रभावकारी रूपमा भइरहेको जानकारी दिए ।
साथै प्रहरीको मनोबल बढाउने र क्षतिग्रस्त कार्यालयको पुनः निर्माणमा नागरिक सहयोग प्राप्त भएको उनले बताए । जनताले सुरक्षित वातावरणमा मतदान गर्न पाउने विश्वास उनले व्यक्त गरे ।
उनले विभिन्न समूहहरूले विविध माग राखेर गरिरहेका प्रदर्शन, धर्ना, जुलुस र विरोध कार्यक्रमहरूको निगरानी र समन्वयात्मक सुरक्षा व्यवस्था मिलाइएको पनि जानकारी दिए । जेनजी आन्दोलनपश्चात् उत्पन्न घटनाक्रम र समाजमा हुन सक्ने उच्छृङ्खल गतिविधिको सहजीकरणको लागि हेल्प डेस्क स्थापना गरिएको जानकारी समेत दिएका छन् ।
मन्त्री अर्यालका अनुसार आगामी निर्वाचनको तयारीका लागि हालसम्म चार पटक केन्द्रीय सुरक्षा समितिको बैठक बसेको र २० वटा निर्णय गरी निर्वाचन सुरक्षा रणनीति निर्माण गरिएको छ । निर्वाचन लक्षित गर्दै म्यादी प्रहरी भर्ना गर्ने योजना अघि बढाइएको छ।
उनले भदौ २३ र २४ गतेको घटनासँग सम्बन्धित अपराधमा संलग्न ५९५ जनालाई पक्राउ गरिएको, २८३ जनाविरुद्ध मुद्दा दर्ता गरिएको, ७२३ थान हतियार फिर्ता ल्याइएको र फरार १४ हजार ५५४ कैदी बन्दीमध्ये ९ हजार ६९७ फिर्ता ल्याइएको जानकारी दिए । बाँकी ४ हजार ८५७ कैदी बन्दी फिर्ता ल्याउन विशेष अपरेसन सञ्चालन भइरहेको छ।
सुरक्षा निकाय सुदृढीकरणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका लागि आवश्यक सवारी साधन खरिदको प्रक्रिया पनि अघि बढाइएको उनले जानकारी दिए ।

