भैरहवा विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान माग गर्दै सिद्धार्थ सञ्जालले गृहमन्त्रीलाई ज्ञापन

by समतल अनलाइन
55Shares

बुटवल । सिद्धार्थ सञ्जाल, रुपन्देहीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्न माग गर्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएको छ। सञ्जालका प्रतिनिधिहरूले भैरहवामै गृहमन्त्रीलाई भेटेर विमानस्थलको पूर्ण क्षमतामा सञ्चालन तथा आवश्यक पूर्वाधार सुधारका विषयमा ध्यानाकर्षण गराएका हुन्।

ज्ञापनपत्रका अनुसार विमानस्थलको अध्यागमन कार्यालयलाई पूर्ण क्षमतामा संचालन गर्ने, श्रम स्वीकृति कार्यालयलाई आधुनिक सुविधा सहित स्तरोन्नति गर्ने, गाम्का लगायत स्वास्थ्य परीक्षण कार्यालय स्थापना गर्ने, भिसा सेन्टर कार्यालय भैरहवामै खोल्ने तथा मेनपावर कम्पनीलाई आवश्यक स्वीकृति सहज रुपमा प्रदान गर्ने माग गरिएको छ।
सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीका अनुसार सरकारले मन्त्रीपरिषदबाट गरेका प्रतिवद्धताअनुसार भैरहवाबाट उडान गर्ने एयरलाइन्सलाई उपलब्ध गराइने सुविधा तत्काल कार्यान्वयन गर्नुपर्नेमा सञ्जालले जोड दिएको छ।

यसबाहेक भैरहवाबाट भारत तथा तेस्रो मुलुकसम्मका अन्तर्राष्ट्रिय उडान विस्तार गर्न, नेपाल एअरलाईन्स तथा बुद्धिस्ट देशका बजेट एअरलाइनलाई भैरहवाबाट उडान संचालन गर्न प्रोत्साहित गर्न, वैदेशिक रोजगारीमा जाने कामदारको उडान पनि यहीँबाट व्यवस्थित गर्नुपर्ने माग उठाइएको छ।
नेपाल एअरलाईन्सको न्यारो–बडी विमान भैरहवामै बेस राखी दैनिक उडान संचालन गर्ने तथा कार्गो सेवा सुरु गर्ने प्रस्ताव पनि सञ्जालले अघि सारेको छ।

अर्को महत्वपूर्ण मागमा अध्यागमन कार्यालयमा अनलाइन ई–भिसा, डिजिटल बैंकिङ तथा क्यूआर भुक्तानी जस्ता प्रविधिमैत्री सेवा उपलब्ध गराउनुपर्ने, भुमार्ग हुँदै नेपाल भित्रिने पर्यटकलाई सहज बनाउने वातावरण बनाउनुपर्ने र बेलहिया नाकामा सरकारले खारेज गरिसकेको आरटीओ कर अझै असुली भइरहेकोले यसलाई तत्काल बन्द गराउनुपर्ने विषय समेटिएको छ।

लुम्बिनी विकास कोष अन्तर्गत दातृ राष्ट्रको सहयोगमा प्राप्त विद्युतीय सवारीसाधन हरियो प्लेटमा दर्ता भएर पनि ६ महिनादेखि सञ्चालनमा नआएकोप्रति सञ्जालले गुनासो व्यक्त गर्दै छिट्टै नियमित सञ्चालनमा ल्याउन सरकारसँग अनुरोध गरेको छ।
त्यस्तै सुनचाँदीमाथि लाग्ने २ प्रतिशत विलासिता कर खारेज गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा उल्लेख छ।

You may also like