काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेशका सबै इन्चार्जलाई पदमुक्त गरेको छ । मंगलबार बसेको सचिवालय बैठकले प्रदेश इन्चार्जको भूमिकामा रहेका सचिवालय सदस्यहरूलाई इन्चार्जबाट हटाएर अब केन्द्रीय सदस्यहरूलाई प्रदेश इन्चार्जको भूमिका दिने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । नयाँ प्रदेश इन्चार्जको जिम्मेवारी भने तोकिएको छैन ।
रास्वपाले गत वैशाखमा कोशीमा सन्तोष परियार, मधेशमा मनिष झा, बागमतीमा निमा अधिकारी, गण्डकीमा शिशिर खनाल, लुम्बिनीमा विपीन आचार्य, कर्णालीमा गणेश पराजुली र सुदूरपश्चिममा हरि ढकाललाई प्रदेश इन्चार्ज तोकेको थियो ।
यीमध्ये कोशी प्रदेश इन्चार्ज रहेका परियारले रास्वपा परित्याग गरिसकेका छन् । त्यस्तै रास्वपाले आगामी निर्वाचनलक्षित सबै पालिकामा र्यापिड एक्सन टिम गठन गर्ने र सोका लागि प्रदेश एवं जिल्ला संगठनलाई निर्देशन दिने निर्णय गरेको छ ।
रास्वपाको बैठकका निर्णयहरु:
१- विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरूसँग भएको संवाद प्रगति सम्बन्धमा उच्च संवाद समितिको तर्फबाट ब्रिफिङ भयो। सम्भाव्य राजनीतिक ध्रुवीकरण र सहकार्यलाई तार्किक निष्कर्षमा पुर्याउन केन्द्रीय समितिको २०८२ मङ्सिर ३ गते बसेको बैठकको निर्देशानुसार अघि बढ्न सचिवालयबाट आवश्यक सहजीकरण गर्ने निर्णय गरियो। सुशासन र द्रूत विकासप्रति समर्पित सबै वैकल्पिक शक्तिहरु मुलुकको अर्थ-राजनीतिक संरचनामा आमूल परिवर्तन गर्न सक्ने सामूहिक सामर्थ्य बनाउन एकजुट हुन आह्वान गर्ने निर्णय गरियो ।
२- पार्टीको केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय लेखा आयोगमा रहेको रिक्त पदपूर्तिका लागि केन्द्रीय समिति सदस्यहरूबाट योग्य पात्रहरुको नाम सिफारिसका लागि अनुरोध गर्ने निर्णय गरियो।
३- प्रदेश इन्चार्जको भूमिका निर्वाह गर्दै आउनुभएका सचिवालय सदस्यहरूलाई विशेष धन्यवाद दिँदै, आगामी निर्वाचन केन्द्रित गतिविधिमा जिम्मेवारी प्रदान गर्ने र प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय गरियो।
४- सबै पालिकामा पार्टीको र्यापिड एक्सन टिम गठन गर्ने र सोका लागि प्रदेश एवं जिल्ला संगठनलाई निर्देशन दिने निर्णय गरियो।
५- कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनका आधारमा पार्टी विधानको धारा ७० बमोजिम कीर्तिपुर नगर समिति विघटन गर्ने निर्णय गरियो।

