बुटवल । आफ्नै श्रीमतीको हत्या गरेको आरोप लागेका एक पुरुषलाई रुपन्देही प्रहरीले बुटवल बसपार्कबाट पक्राउ गरेको छ। बागलुङको निसीखोला गाउँपालिका–६ का ३२ वर्षीय विजय (वीरबहादुर) कुँवरलाई मंगलबार पक्राउ गरिएको हो।
रुपन्देही प्रहरीका अनुसार सिद्धार्थनगर–८, लुम्बिनी गेटस्थित होटल लुम्बिनी गेटमा कार्यरत २० वर्षीया मेलिना परियार कार्तिक २७ गते बिहान करिब ८ बजेतिर होटलको स्टाफ क्वाटरमा मृत फेला परेकी थिइन्। प्रारम्भिक अनुसन्धानमा मेलिनाको मृत्यु ‘कर्तव्य गरी हत्यामा पर्ने देखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सुरज कार्कीले बताए।
प्रहरीका अनुसार मेलिना र उनका श्रीमानबीच सामाजिक सञ्जाल प्रयोग गर्ने विषयमा विगतदेखि मनमुटाव हुने गर्थ्यो। मेलिनाले अन्य पुरुषसँग फोन वा च्याट गर्ने गरेको आशंकामा श्रीमानले बारम्बार झैझगडा गर्ने गरेको प्रारम्भिक बयानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनाको दिन पनि उनीहरूबीच त्यही विषयमा विवाद भएको र मादक पदार्थ सेवन गरेको अवस्थामा वीरबहादुरले आफ्नो श्रीमतीको हत्या गरेको अनुमान प्रहरीले गरेको छ।
घटनापछि फरार रहेका कुँवरलाई विभिन्न सूचनाका आधारमा खोजी गर्दै जाँदा बुटवल उपमहानगरपालिका–९ स्थित बसपार्कमा लुकेर भाग्ने तयारीमा रहेका बेला पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका कुँवरलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी गराएको छ।




