ग्लोबल आईएमई बैंकको १९औँ वार्षिक साधारण सभा सम्पन्न, ८ प्रतिशत लाभांश दिने

by समतल अनलाइन
23Shares

काठमाडौँ ।ग्लोबल आईएमई बैंक लिमिटेडको १९औँ वार्षिक साधारण सभा बुधबार काठमाडौँमा सम्पन्न भएको छ ।

सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफासहित बैंकले आफ्ना सेयर धनीहरूका लागि प्रस्ताव गरेको चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

साधारण सभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेका वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरण अनुमोदन गर्दै नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बैंकले आर्थिक वर्ष २०८१/८२ मा ७ अर्ब २३ करोड रुपैयाँ सञ्चालन मुनाफा र ५ अर्ब ७ करोड रुपैयाँ करपछिको मुनाफा आर्जन गरेको थियो। साधारण सभामा आफ्नो मन्तव्य राख्दै अध्यक्ष ढकालले बैंकले नेपाल सरकार र नेपाल राष्ट्र बैंकका नीति तथा नियमहरूको पूर्ण पालना गर्दै सेयर धनीहरूलाई उचित लाभांश प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यस अवसरमा उनले बैंकले आफ्ना व्यावसायिक रणनीति अन्तर्गत नयाँ व्यावसायिक क्षेत्रहरूको सन्तुलित विस्तार गर्दै लैजाने योजना रहेको पनि उल्लेख गरे ।

साधारण सभामा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रतिनिधि, शेयर धनी, संस्थागत सेयर धनीका प्रतिनिधि, सञ्चारकर्मी, नियामक निकायका प्रतिनिधि तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्थाबाट फरक–फरक विधामा सम्मानित भएको छ। बैंकले बैंक अफ द इयर २०१४, बेस्ट इन्टरनेट बैंक २०१६, बेस्ट बैंक नेपाल २०२४ र २०२५, युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४ र बेस्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ।

ग्लोबल आईएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।

बैंकका ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ । बैंकले रेमिट्यान्स सेवामार्फत विश्वभरका नेपाली नागरिकहरूलाई सहज आर्थिक सेवा प्रदान गर्दै आएको छ ।

अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनजस्ता देशहरूबाट रेमिट्यान्स सेवा सञ्चालन गर्दै बैंकले नेपालको आर्थिक समृद्धिमा योगदान पुर्‍याउँदै आएको छ ।

You may also like

This will close in 0 seconds