भारतलाई नेपालको आग्रह : भागेका कैदी र लुटिएका हतियार नियन्त्रणमा सहयोग गर्नु

by समतल अनलाइन
62Shares

काठमाडौँ । सशस्त्र प्रहरी बलका महानिरीक्षक (आइजी) राजु अर्यालले हालैका जेनजी आन्दोलनका क्रममा भागेका कैदी बन्दी र लुटिएका हतियार नियन्त्रणमा सहयोग गर्न भारतसँग आग्रह गरेका छन् ।

दिल्लीमा जारी नेपाल-भारत सीमा सुरक्षा समन्वय बैठकमा सहभागी हुन गएको नेपाली टोलीको नेतृत्व अर्यालले गर्दै छन् । त्यही बैठकको अवसरमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का महानिर्देशक सञ्जय सिंघलसँगको भेटमा उनले फरार कैदी र लुटिएका हतियारका कारण दुवै देशमा बढेको सुरक्षा चुनौतीबारे ध्यानाकर्षण गराएका हुन् ।

स्रोतका अनुसार भारतीय पक्षले पनि यस विषयलाई गम्भीर रूपमा लिएको छ र फरार कैदी तथा हतियार नियन्त्रणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

गत २४ भदौमा देशभरका २८ जेल र सुधार गृहबाट १४ हजारभन्दा बढी कैदी बन्दी फरार भएका थिए । तीमध्ये करिब पाँच हजार अझै पक्राउ परेका छैनन् । फरारमध्ये ५२० जना भारतीय नागरिक र ९९ जना तेस्रो देशका नागरिक छन् । यिनमध्ये कतिपय भारततर्फ लुकेर बसेको शंका गरिँदै आएको छ।

स्रोतका अनुसार एसएसबी प्रमुख सिंघलले पनि यो विषय दुवै देशका सुरक्षाका लागि गम्भीर चुनौती भएको भन्दै साझा संयन्त्रमार्फत समन्वय बढाउने बताएका छन् । नेपाल र भारतबीचको नवौँ सीमा सुरक्षा समन्वय बैठक बुधबार सुरु भई शुक्रबार सम्पन्न हुँदैछ ।

You may also like

This will close in 0 seconds