जेनजी आन्दोलन माइतीघरबाट बिजुली बजार पुग्दा नै हाइज्याक भइसकेको थियो : रमेश लेखक

by समतल अनलाइन
23Shares

काठमाडौँ ।’ नेपाली कांग्रेसका नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखकले आफूले पद त्याग गर्नु अघि भएको अन्तिम मन्त्रिपरिषद् बैठकमा सामाजिक सञ्जालमाथि लागेको प्रतिबन्ध हटाउने प्रस्ताव राखेको खुलासा गरेका छन् ।

बुधबार नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै उनले भने, ‘भदौ २३ गतेको मन्त्रिपरिषद् बैठक मेरो मन्त्रीको हैसियतमा अन्तिम बैठक थियो। राजीनामाको पूर्वसन्ध्यामा मैले सामाजिक सञ्जालको प्रतिबन्ध फुकाउन प्रस्ताव राखेको थिएँ । निर्णयमा त्यसलाई समावेश गरिएन ।’

बैठकमा उनले जेनजी आन्दोलनका क्रममा भएका घटनाहरू र मानवीय क्षतिबारे पनि धारणा व्यक्त गरे । प्रदर्शनको सुरक्षा योजना बनाउँदा नै संयम अपनाउन र कुनै मानवीय क्षति हुन नदिन स्पष्ट निर्देशन दिएको उनले दाबी गरे।

‘घटना घटेपछि हामी स्तब्ध भयौँ ।’ उनले भने, ‘त्यसपछि सुरक्षा समितिको बैठक बसेर थप क्षति नहोस् भनेर अधिकतम संयमता अपनाउने निर्णय गरेका थियौँ।’

लेखकका अनुसार जेनजी आन्दोलन शान्तिपूर्ण मागका साथ सुरु भए पनि त्यसमा संगठित र योजनाबद्ध घुसपैठ भयो । उनले विराटनगरस्थित कोइराला निवास र बाँडेगाउँको किशुनजी आश्रममाथि भएका आक्रमणलाई सामान्य भ्रष्टाचार विरोधी आन्दोलनको हिस्सा मान्न नसकिने जिकिर गरे ।

लेखकले जेनजी आन्दोलनमा संगठित, योजनाबद्ध र प्रायोजित घुसपैठ भएको आरोप लगाए । उनका अनुसार स्पष्ट नेतृत्व र योजना नहुँदा अर्को समूहले प्रदर्शनलाई हाइज्याक गरेर ठूलो क्षति पुर्‍यायो। जेनजीकै भाषामा भनौँ भने ‘त्यो हाइज्याकपछि संसद् भवनलगायतका निकायमा तोडफोड, लुटपाट र आगजनी भयो ।’

लेखकका अनुसार माइतीघरबाट शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शन बिजुलीबजार पुग्दा नै नियन्त्रण बाहिर गएको थियो । घुसपैठीयाले संसद् भवनमाथि आक्रमण गरी दुर्घटना गराएको र भोलिपल्ट अर्थात् भदौ २४ गते आन्दोलन पूर्ण रूपमा कब्जामा लिइएको उनले बताए ।

You may also like

This will close in 0 seconds