बेलायतमा नेपाली विद्यार्थी सुतेकै अवस्थामा मृत फेला

by समतल अनलाइन
64Shares

लन्डन । लन्डनमा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । सल्यानको भल्चौर ७ का योमन चन्दको मंगलबार बिहान ९ः३० बजे लन्डन एजवेयरमा निधन भएको हो ।

एक वर्षअघिमात्र अध्ययनका लागि बेलायत आएका योमनको सुतेकै अवस्थामा ज्यान गएको उनीसँगै बस्ने मनोज कुँवरले जानकारी दिए ।

युनिभर्सिटी अफ हर्टफोर्डसायर, ह्याटफिल्डमा एमएस्सी कम्युनिकेसन्स् एण्ड इन्फर्मेसन इन्जिनियरिङ अध्ययनका लागि आएका २६ वर्षीय चन्दले आफ्नो पढाइ उत्तीर्ण गरेर भोलिपल्ट सर्टिफिकेट लिँदै थिए ।

अघिल्लो दिन योमनले ‘अलि अलि बिरामी छु, टाउको दुखेको छ र भमिट पनि भयो’ भनेको मनोजले बताए ।
अकस्मात भएको साथीको निधनले मनोज विक्षिप्त बनेका छन् । उनका अनुसार योमनलाई स्वास्थ्य समस्या थिएन ।

मनोजको भनाइ अनुसार राति १२ बजेतिर खाना खाएर सुतेका उनीहरू बिहान ७ः४० को अलार्म बजेपछि मनोज उठे । तर, ८ बजे शुरु हुने कामका लागि ७ बजे नै निस्कने योमन उठेका थिएनन् ।

काममा जान ढिला भइसकेकाले मनोजले हात समाएर ‘योमन, उठ् काममा जान ढिला भयो’ भने, साथी बोलेन । मनोजले उनको हात चिसो रहेको महसुस गरे ।

७ः५० बजेसम्म पनि शरीरले कुनै प्रतिक्रिया नदिएको, श्वासप्रश्वास चाल पनि नभएको पाएपछि उनले तुरुन्त उनले एम्बुलेन्सलाई फोन गरे । उनलाई मंगलबार बिहान ९ः३० बजे स्वास्थ्यकर्मीले मृत घोषणा गरे ।

एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीले परिवार, विश्वविद्यालय र उनका साथीहरुसँग सल्लाह गरी अन्त्येष्टीको प्रबन्ध गरिने बताएका छन् ।

You may also like

This will close in 0 seconds