काठमाडौँ । नवगठित नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले जेनजीलाई हातेमालो गर्न आह्वान गरेका छन् ।
बुधबार आयोजित एकता राष्ट्रिय सम्मेलनमा उनले जेनजीका सदस्यहरूलाई पार्टीमा सामेल गराएको बताए । ‘आजमात्रै जेनजी पुस्ताका वार्तामा रहेकाहरूमध्ये केही युवाहरूलाई पार्टीमा प्रवेश गराएका छौँ । अरू जेनजी साथीहरूलाई पनि भन्न चाहन्छु, आउनुस्, हामीसँग हातेमालो गर्दै अघि बढ्नुस्,’ उनले भने ।
‘सुशासनको पक्षमा होस् वा भ्रष्टाचार नियन्त्रणको कुरा होस् । समाजवादको दिशामा अघि बढ्ने कुरा होस् । समाजमा रहेका विकृति विसङ्गतिका विरुद्धमा जुध्ने कुरा होस् । यी सबै कुरामा तपाईँहरूसँग हामी हातमा हात मिलाएर अघि बढ्न चाहन्छौँ,’ अध्यक्ष नेपालले भने ।
साथै, उनले विभिन्न राजनीतिक दलहरू मिलेर बनेको नयाँ पार्टी र यसको नेतृत्वको अग्निपरीक्षाको प्रारम्भ भएको बताएका छन् । उनले एकता सम्मेलनको सम्बोधनमा भने, ‘यो पार्टी पुरानै पार्टीको रूप होइन। हामीले सुधार गरेर, नयाँ दृष्टिकोण र परिवर्तनको लागि जिम्मेवार भएर जनताको विश्वास जित्नुपर्नेछ।’
नेपालले बाम शक्तिहरूसँग एकता गर्न आह्वान गर्दै, अबको समयमा ठूलो एकता र समाजवादको उद्देश्यका लागि साझा प्रयास गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन्।
नेता नेपालले संविधान, गणतन्त्र र संघीयताको रक्षा गर्दै, युवापुस्तालाई पनि समेटेर पार्टीलाई सञ्चालन गर्ने विश्वास व्यक्त गरे। ‘हामी विदेशी दलाली गर्नेहरूसँग सम्झौता गर्ने छैनौँ,’ उनले थपे।




