यस्ता छन् नेकपाले अनुमोदन गरेका ९ प्रस्तावहरू

by समतल अनलाइन
68Shares

काठमाडौँ । नवगठित नेपाली कम्युनिस्ट पार्टीको एकता सम्मेलनले ९ वटा प्रस्ताव पारित गरेको छ ।भृकुटीमण्डमा आयोजित एकता सम्मेलनले पार्टीको घोषणा पत्र र विधानसहितका दस्तावेज पारित गरेको हो । पुष्पकमल दाहाल प्रचण्डलाई संयोजक र माधवकुमार नेपाल सहसंयोजक चयन भएका छन् ।

चुनाव चिह्न ‘पाँच कुने तारा’ राख्ने र एकतामा सहभागी सबै समूहका सदस्यहरू अबदेखि नेपाली कम्युनिष्ट पार्टीका सदस्य रहने सहमतिको प्रस्ताव सम्मेलनले अनुमोदन गरेको छ ।

विघटित प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्यसहित स्थानीय तहमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा माओवादी समाजवादीको चुनाव चिह्नबाट निर्वाचित जनप्रतिनिधिहरू अबदेखि नेपाली कम्युनिष्ट पार्टीका जनप्रतिनिधि हुनेछन् ।

सम्मेलनले केन्द्रीय संरचनाहरूलाई पूर्णता दिने र संगठनात्मक समायोजनसम्बन्धी काम गर्ने अख्तियारी पार्टीका संयोजक र सहसंयोजकलाई दिने निर्णय पनि गरेको छ ।

यस्ता छन् प्रस्तावहरू :

१. एकता प्रक्रियामा सहभागीहरूले नेपाली कम्युनिस्ट पार्टी निर्माण गरिएको छ ।

२. निर्वाचन चिन्ह पाँच कुने तारा राखिने निर्णय गरिएको छ ।

३. एकतामा सहभागी सबै पार्टीका सदस्यहरू अबदेखि नेपाली कम्युनिस्ट पार्टीका सदस्य निर्णय गरेको छ ।

४. एकतामा सामेल सबै पार्टी नेताहरूसँग आवश्यक परामर्श गरेर पार्टीका केन्द्रीय संरचनाहरूलाई पूर्णता दिने र सङ्गठनात्मक समायोजनको काम गर्ने, यस अगाडि सबै घटकका केन्द्रीय समिति समायोजन गरी केन्द्रीय समिति निर्माण गर्ने निर्णय गरेको छ ।

५. केन्द्रीय समितिलाई पूर्णता दिने र संरचनागत समायोजनसम्बन्धी अख्तियारी संयोजक र सहसंयोजक निर्वाचित भएपछि संयोजक र सहसंयोजकलाई दिने प्रस्ताव गरिएको छ ।

६. विगतमा प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय तहमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित अबदेखि नेपाली कम्युनिस्ट पार्टीका जनप्रतिनिधि हुनेछ ।

७. पार्टी एकतामा सामेल सबै पार्टीहरूको चल, अचल, बैङ्क सम्पत्तिको स्वामित्व र दायित्व अबदेखि नेपाली कम्युनिस्ट पार्टीको हुनेछ ।

८. नेपाली कम्युनिस्ट पार्टीको अन्तरिम विधान र घोषणा पत्र प्राप्त सुझावका आधारमा समेटेर सर्वसम्मति अनुसार पारित गरिएको छ ।

९. नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनबाट अन्तरिम विधान पारित गरिएको छ ।

You may also like