बुटवल । व्यवस्थापन शिक्षामा बृहत् पहिचान बनाउँदै आएको एम्स कलेज बुटवलले त्रिभुवन विश्वविद्यालयबाट हालै प्रकाशित बीबीएस तेस्रो वर्षको नतिजामा पश्चिमाञ्चल क्षेत्रमा सर्वोत्कृष्ट स्थान हासिल गरेको छ। कलेजले उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई विशेष कार्यक्रममार्फत बधाई तथा सम्मान गरेको हो।
कलेजका अनुसार बीबीएस तेस्रो वर्षमा ७७.२ प्रतिशत अंकसहित करिश्मा तिवारी र बीबीएस चौथो वर्षमा ७६.६ प्रतिशत अंक ल्याएर प्रथम भएकी इशा पाण्डे सहितका सफल विद्यार्थीलाई सम्मान गरिएको हो।
कार्यक्रममा एम्स कलेजका अध्यक्ष मनहरी बश्यालले कलेज स्थापना कालदेखि नै उत्कृष्ट नतिजा दिंदै आएको उल्लेख गर्दै विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीपमा सक्षम बन्न प्रोत्साहित गरे। “आजको प्रतिस्पर्धी समयमा शैक्षिक उत्कृष्टतासँगै व्यवहारिक दक्षता अनिवार्य छ,” उनले भने।
स्कलर्स होम स्कूलका प्राचार्य बाबुराम बञ्जाडेले बजारको माग पूरा गर्ने योग्य जनशक्ति उत्पादनमा एम्स कलेज निरन्तर सक्रिय रहेको बताए।
कार्यक्रमको समन्वय क्याम्पस प्रमुख दीपक ढकालले गरेका थिए। उनले यस वर्षको नतिजा देशकै उत्कृष्ट रहेको दाबी गर्दै आगामी दिनमा अझ उच्च स्तरको शैक्षिक वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाए।
सो अवसरमा लर्निङ प्रोसेस स्किल्स (LPS) संयोजक चेतनारायण पन्थी, प्राध्यापक कपिलमणि ढकाल, यज्ञप्रसाद न्यौपाने, सुरज शाक्य लगायतले विद्यार्थीलाई शुभकामना व्यक्त गरे।




