आज गुरु नानकको जन्मजयन्ती मनाइदै

by समतल अनलाइन
51Shares

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो । उनले शिख धर्म ग्रन्थ ‘गुरु गन्थ साहेव’ को रचना गरेका थिए । जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको शुरुवात् उनले गराए।

यस दिन पवित्र स्थल गुरुद्वारामा विशेष पूजा अर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरुनानकको जन्मजयन्ती मनाउने गरिन्छ । शिखहरूको पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गर्ने गुरुनानकले समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभावको अन्त्य गरी आपसी प्रेम र भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्ने उद्देश्यले विनाभेदभाव निःशुल्क सामुदायिक भोजन गर्ने ‘लङ्गर परम्परा’ को थालनी गरेका थिए ।

निर्गुण उपासनाका पक्षपाती गुरुनानक ‘ईश्वर एक छन्, उनी सर्वशक्तिमान् छन् यही नै सत्य हो’ भन्नेमा विश्वास गर्थे ।

शिखहरूको दैनिक पूजाआजाको पवित्र स्थल गुरुद्वारामा धर्मावम्विहरुको प्रभात फेरिका साथ आजको दिनको प्रारम्भ गरिन्छ र यस्तो प्रभात फेरिमा विभिन्न प्रकारका मन्त्रोच्चारण गर्दै भजन गाउँदै गुरुको महिमा वर्णन गरिन्छ । बिहानको समय यसरी गरिने भजनलाई ‘असा दि भार’ भनिन्छ । यस्ता भेलाहरूलाई ‘अमृत भेला’ भनिन्छ र ‘अमृत भेला’ पछी ‘लगांरु’ अर्थात् नि:शुल्क सामुदायिक भोजन गर्ने गराउने चलन हुन्छ र यस्ता भोजहरू गुरुद्वाराका स्वंसेवकहरुले आयोजना गर्दछन् । यस्ता भोजहरू आयोजना गरेर कुनै पनि जात, वर्ण, लिंग वा समुदायका मान्छेहरू त्यसमा सहभागी हुन छुट हुन्छ । यो सामाजिक सहिष्णुताको एउटा अद्भुत उदाहरण त हो नै भक्ति र सेवाको मार्गमा समाजका सबै जना समान छन् भन्ने सन्देश पनि दिएको छ ।

दुई दिन अगाडिदेखिनै पवित्र ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’को ४८ घण्टासम्म अध्ययन गरेर गुरु पर्वको दिन विधीविधान अनुरूप समापन गरिन्छ । यस्तो निरन्तर हुने धार्मिक अध्ययनलाई ‘अखण्डपथु’ भनिन्छ ।

You may also like