रुपन्देहीमा उत्पादित फ्रेन्च फ्राइज अमेरिकामा निर्यात

by समतल अनलाइन
103Shares

रुपन्देही । नेपालमै उत्पादन गरिएको फ्रेन्च फ्राइज पहिलोपटक अमेरिकामा निर्यात भएको छ। रुपन्देहीका सफल व्यवसायी तथा क्वालिटी फुड प्रोडक्ट्सका सञ्चालक कृष्ण पौडेलले सञ्चालन गरेको ‘फर्स्ट च्वाइस फुड लिमिटेड’ले उत्पादन गरेको फ्रेन्च फ्राइज अमेरिकी बजारका लागि पठाइएको हो।

भैरहवा भन्सार हुँदै कलकत्ता बन्दरगाहमार्फत अमेरिका पठाइएको उक्त उत्पादन नेपालकै ब्रान्डलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने महत्वपूर्ण कदमको रूपमा लिइएको छ। उद्यमी पौडेलका अनुसार नेपाली उत्पादन अमेरिकाको जस्तो उच्चस्तरीय बजारमा प्रवेश हुनु नेपालमा खाद्य उद्योग विस्तारको लागि गर्वको विषय हो।

२ अर्ब रुपैयाँ लगानीमा सञ्चालित फर्स्ट च्वाइस फुड्सले देशभित्रको कृषिमा ठूलो योगदान पुर्‍याइरहेको छ। हाल यस उद्योगले देशका २६ जिल्लाका करिब ३५ हजार किसानसँग समन्वय गरी आलु संकलन गर्ने गरेको छ। किसानबाट खरिद गरिएको आलुलाई प्रशोधन गरी फ्रेन्च फ्राइजलगायत अन्य परिकार उत्पादन र बजारमा आपूर्ति भइरहेको जनाएको छ।

व्यावसायिक दृष्टिले यो सफलतासँगै नेपालका कृषककाे आय बढ्ने, स्थानीय उत्पादकलाई प्रोत्साहन मिल्ने तथा कृषिमैत्री उद्योग विस्तारको सम्भावना अझ बढ्ने अपेक्षा गरिएको छ।

उद्योगका संचालक कृष्ण पौडेलले निरन्तरता सहित अझ थप देश–विदेशका बजारमा नेपाली फ्रोजन प्रोडक्ट पुर्‍याउने लक्ष्य रहेको बताए। उनले किसानसँगको सहकार्यलाई अझ मजबुत बनाउँदै उत्पादन र निर्यात क्षमतामा वृद्धि गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे।

नेपालमा प्रशोधित कृषिजन्य उत्पादनको अन्तर्राष्ट्रिय बजारमा उपस्थितिका लागि यो उपलब्धिलाई महत्वपूर्ण माइलस्टोनका रूपमा हेरिएको छ।

You may also like