रुपन्देहीका चार उद्योगले विद्युत् प्रिमियम महसुलको बक्यौता तिरे

by समतल अनलाइन
76Shares

काठमाडौं । डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका रुपन्देहीका चार उद्योगले प्रिमियम महसुलको बक्यौता तिरेका छन् । ती उद्योगहरूले सोमबार नेपाल विद्युत् प्राधिकरणलाई पहिलो किस्ताबापतको रकम बुझाएका हुन् ।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार भैरहवा क्षेत्रमा रहेका पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टिल इन्डस्ट्रीज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले पहिलो किस्ताको रकम तिरेका हुन् ।

उद्योगहरूले पहिलो किस्ता तिरेसँगै प्राधिकरणले पहिले काटिएको विद्युत् लाइन पुनः जडान गरेको छ ।

कार्यकारी निर्देशक सिलवालका अनुसार ती उद्योगहरूले विसं २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग गरेको बक्यौता बुझाएका हुन् ।

प्राधिकरणका अनुसार पञ्चकन्या प्लाष्टिक उद्योगको बक्यौता रु २४ लाख ६३ हजार, पञ्चकन्या स्टिलको रु ५२ लाख १९ हजार, सिद्धार्थ पेटप्लान्टको रु एक करोड ८३ लाख र श्याम प्लास्टिकको रु ४९ लाख १० हजार रहेको छ ।

प्राधिकरणले बक्यौतामा रहेका रकमलाई २८ किस्तामा विभाजन गरेको र उद्योगहरूले पहिलो किस्ता तिरेर बाकी किस्ताहरू क्रमिक रूपमा बुझाउने सहमति भएको जनाएको छ ।

You may also like