काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको तिहार पर्व अन्तर्गत भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। समितिका अनुसार कात्तिक ६ गते बिहीबार बिहान ११:३९ बजे भाइटीकाको साइत उत्तम रहनेछ।
यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुनेछ। सो दिनदेखि यमदीप दान प्रारम्भ हुने र धन त्रयोदशी तथा धनतेरस पर्व पनि यही दिन पर्ने समितिले जनाएको छ।
कात्तिक २ गते आइतबार काग तिहार तथा धनवन्तरी जयन्ती पर्व मनाइनेछ।
कात्तिक ३ गते सोमबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा पर्नेछ। सोही दिन दिउँसो २:५२ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंसी तिथि लाग्ने भएकाले पर्वको निर्णय शास्त्रसम्मत रूपमा गरिएको समितिले जनाएको छ।
त्यस्तै, औंसी तिथिमा गरिने स्नान र दान भने कात्तिक ४ गते मंगलबार बिहान गर्नुपर्नेछ। सो दिन दिउँसो ४:२९ बजेसम्म औंसी तिथि रहनेछ।
शास्त्रीय विधिअनुसार भाइपूजा तथा नेवारी भाषामा भनिने ‘किजा पूजा’ कात्तिक ६ गते बिहीबार मनाइने समितिले जानकारी दिएको छ।
त्यसैगरी, नेपाल बाहिर रहेका नेपालीहरूका लागि अन्तर्राष्ट्रिय नेपाल पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशका लागि शुभ साइतको मिति र समय पनि तोकेको जनाएको छ।