काठमाडौँ । नेकपा एमालेका युवा नेता महेश बस्नेतले ‘हामी नेपाल’ का संस्थापक तथा जेन–जी आन्दोलनका अभियन्ता सुदन गुरुङ एमालेमा प्रवेश गर्ने सम्भावना रहेको दाबी गरेका छन् ।
संविधान दिवसको अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बस्नेतले गुरुङको टोली एमालेमा आउन सक्ने भएकाले अचम्म नमान्न आग्रह गरे । उनले भने, “सुदन भाइ एमालेमा आउँछजस्तो लाग्छ, यो विषयमा अलिअलि कुराकानी पनि भएको छ । हामीलाई सुरक्षा थ्रेट भयो भनेर यिनीहरूको ठूलो टोली सम्पर्कमा आएको छ । यिनीहरू एमालेमा आए भने तपाईंहरू अचम्म नमान्नुस् ।”
बस्नेतलाई एक युट्युबरले “सुदन गुरुङले तपाईंलाई आरोप लगाएका छन् नि ?” भनेर सोध्दा उनले ती आरोपलाई अस्वीकार गर्दै भने, “यस्ता हावा कुरा हुन्, आरोप लगाएको छैन मलाई । बिचरा सुदन गुरुङ डराएर के–के भन्न पुगेका हुन् ।”
यसअघि बुधबार सुदन गुरुङले आफूलाई केही अज्ञात समूहले लखेटेको दाबी गरेका थिए । रानीबारीदेखि बानेश्वरसम्म पल्सर मोटरसाइकलमा आएका व्यक्तिहरूले आफूलाई फलो गरेको भन्दै उनले इन्स्टाग्राममा भिडियोसमेत सार्वजनिक गरेका थिए । साथै, उनले एक सञ्चार माध्यमसँग कुरा गर्दै उक्त समूह एमाले नेता बस्नेतसँग सम्बन्धित हुन सक्ने आशंका व्यक्त गरेका थिए ।
गुरुङ जेन–जी आन्दोलनको सहजीकरण गर्दै आएका छन् भने ‘हामी नेपाल’ नामक संगठनका अध्यक्षसमेत हुन् । उनी पछिल्लो समय आन्दोलनका प्रतिनिधि पात्रका रूपमा सार्वजनिक भएका छन् ।