बुटवल । अहिले जन्मदिन भन्नासाथ केक काट्ने, साथीभाइ बोलाएर भोजभतेर गर्ने चलन बढ्दो छ । यस्ता खर्चिलो र देखावटी संस्कारका बीच, बुटवलका सुशान भण्डारीले भने जन्मदिनलाई एक विशेष अर्थ दिँदै नेपाल अपाङ्ग आश्रम, देविनगर बुटवलमा रहेका वृद्धवृद्धाहरूसँग भोजन गर्दै आफ्नै तरिकाले खुसी बाँडेका छन् ।
सुशानका बुबा थम्मन भण्डारीका अनुसार, “छोराले सानैदेखि नै वृद्धवृद्धा र असहायप्रति विशेष माया देखाउँदै आएको हो । उसमा सेवा गर्ने भावना गहिरो छ । जन्मदिनमा केक काट्नुभन्दा आश्रममा एकछाक भोजन गराएर बाआमाको साथमा खुसी बाँड्न चाह्यो । हामीले पनि त्यो चाहनालाई साथ दियौं ।”
जन्मदिनको दिन केक र पार्टीभन्दा सेवा र माया महत्वपूर्ण ठान्ने सुशान भन्छन्, “आफ्नो खुसीमा आफू मात्र रमाउनु जीवनको सफलता होइन, थोरै खुसी अरूलाई बाँडेर उनीहरूलाई पनि खुसी बनाउनु नै असली सफलता हो ।”
उनको यो भावनात्मक कर्मले आश्रममा रहेका वृद्धवृद्धामा पनि विशेष हर्ष ल्याएको थियो । सो अवसरमा सुशानले आश्रममा पुगेर वृद्धवृद्धासँग आत्मीयता साटासाट गर्दै खाना खुवाएका थिए । आश्रमले पनि मानवीय सेवा भावको सम्मान गर्दै उनलाई धन्यवाद ज्ञापनसहित दीर्घायुको कामना गरेको छ ।
थम्मन भण्डारी भन्छन्, “आगामी वर्षहरूमा पनि जन्मदिनको खर्च गरिब, भोका, असहायका लागि लगाउने योजना बनाएका छौं । यसरी सामाजिक सेवामा सहभागी भई वास्तविक खुसी पाउने प्रयास गर्दै जानेछौं ।”
आजका दिन समाजमा जहाँ पैसाको प्रदर्शनलाई जन्मदिनको नाममा बढावा दिइँदैछ, सुशानको यो काम साँचो अर्थमा अनुकरणीय बनेको छ ।