नक्कली सुन देखाएर साढे २१ लाख ठगी

by समतल अनलाइन
52Shares

काठमाडौं । नक्कली सुन देखाएर २१ लाख ५० हजार ठगी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ घर भएर हाल भक्तपुर ठिमी–८ बोडे बस्ने २८ वर्षीय बुद्धिबहादुर तामाङ र नुवाकोट मेगङ गाउँपालिका–८ घर भएर हाल भक्तपुर चागुनारायण–८ सुडाल बस्ने २२ वर्षीय सुमन तामाङ रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनका अनुसार नक्कली सुन देखाएर प्रतितोला एक लाख १० हजारमा दिन्छु भनी प्रलोभनमा पारेर गत फागुन २५ गते ओखलढुंगाका ढकबहादुर बुढाथोकीबाट १२ लाख र जेठ २७ गते दोलखा भीमेश्वर–५ का अर्जुन बस्नेतबाट रु नौ लाख ५० हजार लिएर फरार रहेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो ।

उनीहरूको साथबाट सुन जस्तो देखिने पहेंलो धातु (एक केजी) एक थान बरामद गरिएको छ । दुवै जनालाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको सूचना अधिकारी आचार्यले बताए ।

Comments

You may also like