57
धनगढी । कैलालीमा एक जना ज्येष्ठ नागरिक मृत भेटिएका छन् । लम्कीचुहा नगरपालिका–१ का ८० वर्षीय नयाँराम जैशी बुधबार साँझ साढे ५ बजेतिर मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीषक (डीएसपी) राजकुमार सिंहले जैशी भाञ्जा नाता पर्ने सोही ठाउँका ५५ वर्षीय बर्मा भण्डारीको आँगनमा लडेको अवस्थामा मृत फेला परेको जानकारी दिए । मृतकको शरीरमा बाहिरी चोटपटक भने देखिएको छैन ।

तर, मामा र भाञ्जाबीच आर्थिक लेनदेनको कुरा जोडिएकाले अनुसन्धानका लागि भण्डारीलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ । मृतकको शव घटनास्थलबाट उठाइएको छैन । उनका छोरा काठमाडौंबाट आउँदै गरेकाले शव नउठाइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान अगाडि बढाएको छ ।