सुमन रश्मी श्रेष्ठ
बुटवल काठमाडौं उपत्यका बाहिर विकासका दृष्टिले अग्रणी शहर हो । बुटवल उपमहानगरको सीमाक्षेत्रभित्र मात्रै सीमित छैन, यसको प्रभाव नवलपरासीको बर्दघाटदेखि कपिलवस्तुको चन्द्रौटासम्म रहन्छ । अब प्रदेश राजधानी दाङको देउखुरीमा पुगेपछि त्यहाँसम्म बुटवलको प्रभाव क्षेत्र हो । यसर्थ, बुटवललाई सीमानाको साँघुरो घेराभित्र राखेर मात्रै हेर्नुहुँदैन । अबको विकास चाहे त्यो भौतिक पूर्वाधारतर्फको विकास होस् या मानव संशाधनको विकास होस्, देशमै नेतृत्व गर्ने क्षेत्र यही भूगोल हो । अबको बुटवलको यात्रा बारे बुटवल उपमहानगर मेयर खेलराज पाण्डेयसँग गरिएको कुराकानी ।
वर्तमान बुटवलको अवस्था बारे तपाईको विश्लेष के छ ? कसरी काम गर्दै हुनुहुन्छ ?
बुटवल अहिले भौतिक पूर्वाधारमा अगुवाई गर्दैछ । यहाँ अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र र प्रदर्शनी स्थल तयार भएका छन् । ६ लेनको सडक सम्पन्न हुने क्रममा रहेको छ भने बुटवल–नारायणगढ सडक स्तरोन्नति भइरहेको छ, बुटवलदेखि गोरुसिंगेसम्मको सडक बिस्तारको काम पनि तिब्र रुपमा अघि बढेको छ । बुटवलभित्र कुनैपनि क्षेत्रमा पुग्नका लागि सडकको अभाव छैन ।
शिक्षामा हामीले बुटवलभित्रका सबै सार्वजनिक विद्यालयहरुलाई एउटै स्तरमा पुर्याउने गरी काम गरिरहेका छौं । आम्दा अस्पताललाई विशिष्टकीकृत अस्पतालका रुपमा स्तरोन्नति गरी ३ सय बेडको पु¥याउने र पारा मेडिकल र नर्सिङ विषयको प्रविणता प्रमाण पत्र तहको कक्षा सञ्चालन भइसकेको छ । यसले दक्ष जनशक्ति उत्पादनमा पनि भूमिका निर्वाह गर्नेछ ।
प्राविधिक शिक्षामा बुटवल टेक्निकल इन्स्टिच्युटमा सिभिल इन्जिनियरिङतर्फ स्नातक तहको अध्ययन आरम्भका लागि भौतिक पूर्वाधार तयार गर्ने काम अघि बढेको छ । बुटवल १५ मा कृषिविज्ञान (बी.एस.सी.ए.जी.) कलेज स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । बीटीआइमा ४० जना छात्रालाई निशुल्क छोरी पढाउ कार्यक्रम सञ्चालन गरिएको छ । यसले छात्रालाई प्राविधिक क्षेत्रमा दक्ष बनाउन मदत गर्नेछ ।
स्वास्थ्यतर्फ दुईवटा १५–१५ बेडका अस्पताल निर्माण भएर सञ्चालनको तयारीमा छन् । यसले स्वास्थ्यमा अर्को फड्को मार्नेछ । बाआमासँग नगर प्रमुख, बालबालिकासँग उपप्रमुख, अपांगता भएकाहरुलाई घरदैलोमै स्वास्थ्य सेवा, जटिल रोग उपचारमा बिरामीलाई उपचार खर्चको व्यवस्था बुटवलमा छ । बुटवललाई बालमैत्री नगरका रुपमा स्थापित गर्नका लागि बालमैत्री घोषणा गर्ने गरी काम भइरहेको छ ।
लामो समयसम्म विवादमा रहेको मोतीपूर औद्यौगिक क्षेत्रमा जग्गा यकिन गरी ब्यवस्थापन गर्न ड्रोन प्रविधिबाट जग्गा नापजाँच गर्ने काम सकेर औद्योगिक क्षेत्रको जग्गा छुट्याएर अब बाँकी काम गर्नेतर्फ अगाडि बढेको छ । बुटवल–१५ सेमलारमा नेपालकै आधुनिक र व्यवस्थित कृषि बजार केन्द्र स्थापना गर्ने काम अगाडि बढेको छ । यसले बुटवल र आसपासका किसानका लागि लाभ पुर्याउनेछ ।
सहरलाई उज्यालो बनाइराख्नका लागि २३ स्थानमा हाइमास्ट लाइट जडान गरेका छौं भने कालिका पथमा स्ट्रीट लाइट जडान गरिएको छ । यसलाई थप गर्दै जाने हाम्रो योजना रहेको छ । सहरलाई सुरक्षित राख्नका लागि सीसीटीभीबाट निगरानी गर्ने गरी १ सय २५ वटा सिसीटिभी जडान गरिएको छ । जसले सम्भावित दुर्घटनाबाट जोगाउन मदत गर्दछ भने दुर्घटनापश्चात् पनि सघाउ पुराउँछ । कालिकापथमा हाइटेन्सन लाइनको भाग हटाएर मोनोपोल जडान हुँदैछ यसले सडकलाई फराकिलो बनाउन र सुरक्षित बनाउन मदत गर्नेछ ।
पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गको सबैभन्दा बढी चाप हुने क्षेत्रमध्येमा बुटवल पर्छ । बुटवलबाट देशका अधिकांश स्थानमा जाने गाडी छुट्छन् । यसका लागि हामीसँग अहिले उपलब्ध बसपार्क साँघुरो भइरहेको अवस्था छ । यसका लागि हामीले प्रदेशस्तरको हरियाली बसपार्क बनाउने योजनामा छौं । नयाँ बसपार्कमा स्नानगृहसहितको आधुनिक शौचालय निर्माण भएको छ भने थप ३ वटा सार्वजनिक घुम्ती शौचालय सञ्चालनमा ल्याइएको छ ।
बुटवलको पहिचानलाई पुनःस्थापित गर्ने उदेश्यले फल्चा निर्माण गरिएको छ भने थप फल्चा निर्माण गर्ने काम अगाडि बढेको छ ।
बुटवल पहिलेदेखि नै पर्यटकीय केन्द्र हो । यहाँ नेपाल–अंग्रेज युद्धमा जित हासिल गरेको जितगढी किल्ला, मणिमुकुन्दसेनको ग्रीष्मकालीन दरबार, करीब एक करोड दश लाख वर्ष पूरानो आदिम मानव रामापिथेकसको अवशेष फेला परेको स्थान र हिलस्टेशन नुवाकोट क्षेत्र, सिद्धबाबा मन्दिर, भैरव मन्दिर, भुवनेश्वरी मन्दिर, नीलकण्ठबाबाधाम, मुक्तिनाथधाम, कपरकट्टी ताल, हिलपार्क, मणिमुकुन्द सेन उद्यान, पिस पार्क, मिलन पार्कसहितका प्राचीन, ऐतिहासिक र पर्यटकीय स्थल रहेका छन् । अहिले निर्माणका क्रममा रहेका दुई केवलकारले बुटवलको पर्यटनलाई अरु धेरै चलायमान बनाउने छ । यसले बुटवललाई उत्कृष्ट विश्रामस्थलका रुपमा परिचित गराउनेछ भन्नेमा हामी विश्वस्त रहेका छौं । बुटवलदेखि नुवाकोटसम्म पैदलमार्ग निर्माण गर्ने काम यही वर्ष शुरु हुनेछ । ज्योतिनगर पहिरो, अमरपथको डुबान रोक्नका लागि विशेष कार्यक्रम सञ्चालन गरिएको छ । नगरको पहिचानलाई थप स्थापित गर्नका लागि नगर गान निर्माण गरी प्रयोगमा ल्याइएको छ ।
के महानगरका लागि तयार भएको हो बुटवल ?
महानगर बन्नका लागि हामी सक्षम छौं । त्यसका केही मापदण्डहरु म यहाँ जानकारी गराउन चाहन्छु । बुटवलका स्थायी बासिन्दाको जनसंख्या करीब २ लाख छ । अनौपचारिक रुपमा बसोबास गर्नेको संख्या १ लाख भन्दा बढी छ । वार्षिक आम्दानीमा गत आर्थिक वर्षमा आन्तरिक श्रोतका रुपमा ५१ करोड रहेकोमा यसलाई अरु वृद्धि गर्दै जाने योजनामा रहेका छौं । बुटवल रंगशाला, बुटवल टेक्निकल इन्स्टिच्युट, कोरियन प्राविधिक शिक्षालयजस्ता प्राविधिक शिक्षालय छन् । लुम्बिनी प्रादेशिक अस्पताल विशेषज्ञसहितको अस्पताल बुटवलमै रहेको छ । अहिले यसको थप स्तरोन्नतिको काम भइरहेको छ ।
हामीले पनि अरु स्तरीय अस्पताल निर्माण गर्ने र स्तरोन्नति गर्ने काममा लागेका छौं । सुविधासम्पन्न टर्मिनल सहितको बसपार्क छ । यो भन्दा स्तरीय बसपार्क निर्माण हुँदैछ । तरकारी तथा फलफुल वितरण केन्द्र सञ्चालनमै रहेको छ र आधुनिक र उच्चक्षमताको कृषि उपज केन्द्र निर्माणको तयारीमा रहेका छौं । हामीकहाँ सपिङ मलहरु पर्याप्त छन् । अरु केही निर्माणका क्रममा रहेका छन् । हामीसँग बुटवल अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, प्रदर्शनी स्थल रहेका छन् । यी र यस्ता कुराहरुका कारण बुटवललाई महानगरपालिका घोषणा गर्न रोकिने अवस्था आउँदैन । अहिले पनि बुटवल महानगरपालिका बन्न सक्षम छ ।
संघ, प्रदेशसँग बुटवल उपमहानगरको अपेक्षा के छ ?
संघ, प्रदेश र स्थानीय सरकारबीचमा निरन्तर समन्वयको आवश्यक पर्छ । तर हामीकहाँ यस्ता संयन्त्रहरु प्रभावकारी छैनन् । प्रधानमन्त्रीको अध्यक्षतामा अन्तरप्रदेश परिषद् गठन हुने र त्यसले प्रदेश–प्रदेशबीच उत्पन्न हुने राजनीतिक विवाद समाधान गर्ने व्यवस्था गरिएको छ । उक्त समितिमा स्थानीय सरकारको प्रतिनिधित्व हुने व्यवस्था छैन । राज्यशक्तिको प्रयोग तीन तहले गर्ने र विवाद समाधान गर्ने सङ्घीय कमिटीमा चाहिँ दुई तहको मात्रै प्रतिनिधित्व हुने संरचनागत व्यवस्था छ । यसले विवाद समाधान हुने देखिँदैन । स्थानीय तहबीचमा र स्थानीय तह र प्रदेशसँगको विवाद समाधान गर्ने जिम्मेवारी प्रदेशसभालाई दिइएको छ । ती संयन्त्रहरुको बैठक नियमित छैन र हामीले आफ्ना कुरा राख्न पाएका छैनौं । प्रदेशसँगकै विवादमा प्रदेशसभाले निर्णय गर्ने कुरामा स्वार्थ बाझिने अवस्था देखिन्छ । अरु पनि यस्ता कानूनहरु छन्, जसले हाम्रो संघीयताका बीचमा केही अन्योल सिर्जना गरेका छन् ।
संघ, प्रदेश र स्थानीय सरकारका बीचमा रहेका यस्ता अन्योल समाधान गर्ने काम समन्वय परिषद् र अन्तरसरकारी वित्त परिषद्जस्ता निकायले गर्नुपर्ने हो । तर त्यसमा स्थानीय सरकारका रुपमा हुने प्रतिनिधित्व प्रभावकारी भूमिकासहितको छैन । हामी स्थानीय सरकारको रुपमा संघ र प्रदेशसँग बलियो अर्थ राख्ने समन्वयकारी भूमिका होस् भन्ने चाहन्छौं । स्थानीय सरकार जति बलिया हुन्छन् र आत्मनिर्भर हुन्छन्, संघीयता त्यति नै बलियो बन्छ । यसको प्रत्यक्ष लाभ जनतामा पुग्छ । अहिले संघीयताविरोधी र खर्चिलो संरचना भनेर जसरी आलोचना र विरोधका स्वरहरु सुनिन थालेका छन्, त्यसको कारण यस्ता निकायहरु र संरचनाहरु सक्रिय र प्रभावकारी नबनाउनु हो ।
बुटवल उपमहानगरको अबको लक्ष्य र यात्रा के हो त ?
हामी स्थानीय सरकारलाई संघीयताको बलियो खम्बाका रुपमा स्थापित गर्न चाहन्छौं । संघ र प्रदेशबाट प्राप्त अनुदानको भरमा विकासे काम गरिरहेको अवस्थालाई बदल्दै आत्मनिर्भर बन्न चाहन्छौं । संघ र प्रदेशको साथमा मुलुकलाई समृद्ध बनाउने जग हाल्ने सरकारका रुपमा अघि बढाउन चाहन्छौं । सेवाप्रवाहलाई डिजिटल र सहज बनाउन चाहन्छौं । हाम्रा सबै काम अनलाईनबाट सञ्चालन हुने र घरमै बसेर सरकारी सेवा लिनसक्ने अवस्थामा पुर्याउन चाहन्छौं ।
यसका लागि संघ र प्रदेशले केन्द्रीकृत मानसिकता त्यागेर संघीयतालाई जनताका घरदैलोमा पु¥याउनका लागि अगुवाई गर्नुपर्छ । आवश्यक कानूनहरु तयार गर्न र कार्यान्वयन गर्नका लागि मार्गप्रसस्त गर्नुपर्छ । कानूनी बाधाअड्चनहरुलाई समाधान गरी केन्द्रीकृत राज्यप्रणालीका अवशेषहरु समाप्त गर्नुपर्छ । अनि स्थानीय सरकार समृद्ध बन्छन् । स्थानीय सरकार समृद्ध बनेपछि मुलुक समृद्ध बन्छ । बुटवलको अबको यात्रा र लक्ष्य नै त्यही हो ।