बुटवल । बुटवलको नेपालगन्ज रोडस्थित एक होटलमा भएको रहस्यमय मृत्यु घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामाथि आत्महत्या दुरुत्साहनको आरोपमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक थमन जिसीका अनुसार पोखरा–१७ निवासी ३६ वर्षीय कृष्णहरि जिसी जेठ १ गते बिहान करिब २ बजे होटलको छतबाट हाम फालेको अवस्थामा मृत फेला परेका थिए। उनी आफ्ना चार जना साथीहरूसँग बुटवल पुगेका थिए। प्रारम्भिक अनुसन्धानमा उनीहरूबीच आर्थिक कारोबारको विषयलाई लिएर विवाद भएको खुलेको छ।
घटनापछि मृतकका छोराले संगै रहेका व्यक्तिहरूले मानसिक दबाब दिई आत्महत्यामा बाध्य पारेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका थिए। त्यसपछि प्रहरीले तत्काल तीन जनालाई नियन्त्रणमा लिएको थियो भने फरार रहेका अर्का एक जनालाई पछि काठमाडौंबाट पक्राउ गरिएको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा निम प्रसाद पंगेनी, बासु ढकाल, रामकृष्ण थापा र कमला पुरी रहेका छन्।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक थमन जिसीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। पक्राउ परेका चारै जनामाथि अदालतबाट म्याद थप गरी आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
घटनाले आर्थिक तथा जग्गा कारोबारसँग जोडिएका व्यक्तिगत सम्बन्ध र विवादले कहिलेकाहीँ गम्भीर परिणाम निम्त्याउन सक्ने तथ्य फेरि उजागर गरेको छ।








