बुटवल । ४५ दिनपछि ताला खोलिएसँगै होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रुपन्देहीको कार्यालय मंगलबार खुलेको छ। असन्तुष्ट पक्षले ताला लगाउँदा गत चैत २४ र २५ गतेका लागि तय गरिएको संघको साधारण सभा तथा अधिवेशन स्थगित भएको थियो।
संघको कार्यालयमा निर्वाचनका विषयमा विवाद उत्पन्न भएपछि चैत २० गते संघका वरिष्ठ उपाध्यक्ष माधवप्रसाद खनालको नेतृत्वमा ताला लगाइएको थियो। खनाल सदस्यता छानबिन समिति संयोजक समेत थिए। असहमतिकाबीच उम्मेदवारी दर्ता भएको, फर्जी मतदाता सूची तयार पारिएको लगायतका आरोप लगाउँदै असन्तुष्ट पक्षले यस्तो कदम चालेका थिए।
संघका अध्यक्ष लेखनाथ भण्डारीका अनुसार ताला खोल्दा निर्वाचनका लागि तयार पारिएका मुचुल्का र सामग्रीहरू भने हराइरहेको पाइएको छ। निर्वाचन प्रक्रिया सुरु भइसकेपछि ती सामग्रीहरू अत्यन्त संवेदनशील मानिन्छन्।
ताला खोल्न स्थानीय प्रशासन, प्रहरी र नगर प्रतिनिधिको रोहवरमा प्रक्रिया अघि बढाइएको थियो। बुटवल उपमहानगरपालिका वडा नं. ९ का अध्यक्ष प्रदीपकुमार श्रेष्ठ, इलाका प्रशासन कार्यालय बुटवलका नासु कृष्णप्रसाद पन्थी, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक शालिकराम खनाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे लगायतको उपस्थितिमा ताला खोलिएको हो।
संघले चैत २४ र २५ गतेका लागि साधारण सभा तथा अधिवेशनको मिति तय गरेको थियो भने उम्मेदवारी मनोनयन चैत १९ गते सम्पन्न भएको थियो। तर मनोनयन दर्ता प्रक्रियाप्रति असहमति जनाउँदै असन्तुष्ट पक्षले ताला लगाइदिएको थियो।
संघका अध्यक्ष भण्डारीले पटक–पटक संवाद तथा छलफलको प्रयास भए पनि सहमति हुन नसकेपछि अन्ततः कानूनी प्रक्रिया अनुसार ताला खोलिएको जानकारी दिए। उनले भने, “अब सबै पक्षसँग छलफल गरेर संघलाई अगाडि कसरी लैजाने भन्ने विषयमा निर्णय गरिनेछ।”
निर्वाचन समिति संयोजक तथा संघका कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता शालिकराम वञ्चाडेले भने, निर्वाचनका लागि आवश्यक सबै कागजात र सामग्री हराएकोले अब संघमा थप अन्यौलता उत्पन्न भएको बताए।
भण्डारीका अनुसार, कार्यालयका कर्मचारीहरूले पहिले लगाएको ताला फोरेर अर्को पक्षले आफ्नो ताला लगाएकाले त्यसको जिम्मेवारी उनीहरूले लिनुपर्नेछ। यस विषयमा आवश्यक प्रक्रिया अघि बढाइने पनि उनको भनाइ छ।