‘एलबीसी स्टार्टअप कन्फ्रेन्स २०२५’ सम्पन्न, युवालाई उद्यमशीलतामा जोड

Shares

बुटवल । लुम्बिनी बाणिज्य क्याम्पस, बुटवलको आयोजनामा ‘एलबीसी स्टार्टअप कन्फ्रेन्स २०२५’ सम्पन्न भएको छ। युवाहरूलाई उद्यमशीलता र स्टार्टअप प्रवर्द्धनमा प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको उक्त सम्मेलनमा विभिन्न क्षेत्रका विशेषज्ञ, उद्यमी तथा शिक्षाविद्हरूको सहभागिता रहेको थियो। कार्यक्रममा अनुभव साटासाट, प्रेरणादायी प्रस्तुति, प्यानल छलफल र अन्तरक्रियात्मक सत्रहरू समेत समावेश गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले उद्घाटन मन्तव्य दिंदै युवालाई प्रारम्भिक चरणदेखि नै कर्ममा जोडिनुपर्ने आवश्यकता औंल्याए। उनले भने, “आजको युवा पुस्ता योजनाबद्ध, व्यवसायिक सोचसहित अघि बढ्नुपर्छ। यस्ता कार्यक्रमहरूले भविष्यका उद्यमशील नेतृत्व उत्पादन गर्न मद्दत गर्छन्।”

उनले सफलताको लागि धैर्यता, लगनशीलता र इच्छाशक्ति अत्यावश्यक रहेको उल्लेख गर्दै, विद्यार्थीहरूले अध्ययनकै क्रममा भविष्यको योजना बनाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा औद्योगिक विकास प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार गुप्ताले कुनै पनि व्यवसाय सफल हुन संघर्षको लामो यात्रा पार गर्नुपर्ने बताए। “व्यवसायको शुरुवात सानो पुँजीबाट भए पनि लगातारको मिहिनेत नै सफलता प्राप्त गर्ने मूल आधार हो,” उनले भने।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठले सामुदायिक क्याम्पसको समुन्नत विकासका लागि सबै पक्षको सहकार्य अपरिहार्य रहेको उल्लेख गरे। क्याम्पस प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्यायले विद्यार्थीको क्षमता विकासमा क्याम्पसले निरन्तर प्रयास गरिरहेको भन्दै भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रमको विशेष आकर्षणका रूपमा आयोजित प्यानल डिस्कसन मा चौधरी फाउन्डेसनकी चिफ अपरेटिङ अफिसर मेरिना रञ्जित, स्किल ल्याब नेपालका सीईओ नन्दकिशोर मण्डल, तथा लुम्बिनी बाणिज्य क्याम्पस एलुम्नाई एशोसिएसनका प्रमुख अनिल कुमार श्रेष्ठ सहभागी थिए। प्यानलको मोडरेटरको भूमिका एलुम्नाई सदस्य अर्जुन ज्ञवालीले निभाएका थिए।

त्यस्तै, ई–ड्राइभ लुम्बिनीका संस्थापक राजकुमार गुप्ता र गाउँको इको घरका सञ्चालक समुन्द्र घिमिरेले प्रेरणादायी प्रस्तुति दिंदै विद्यार्थीहरूसँग प्रश्नोत्तर सत्रमा समेत सहभागिता जनाए।

क्याम्पसका सह–प्रमुख पुनाराम पोखरेलले क्याम्पसको विविध गतिविधिबारे जानकारी गराए भने कार्यक्रमको सञ्चालन मुकुन्द ज्ञवालीले गरेका थिए।

You may also like