शिक्षक आन्दोलन आज पनि जारी

Shares

काठमाडौं । शिक्षक महासंघले आज (मंगलबार) पनि आन्दोलनलाई जारी राख्ने भएको छ । महासघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आज पनि आन्दोलनका लागि बिहान ठिक ११ बजे माइतीघर मण्डलामा आउन शिक्षक, कर्मचारीहरुलाई आह्वान गरेका छन् ।

बिगत २८ दिनदेखि काठमाडौँ केन्द्रीत आन्दोलनमा रहेको शिक्षक महासंघ र सरकारबीच गए राति सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा बार्ता भएको थियो । वार्ता सकारात्मक भए पनि निष्कर्षमा पुगिनसकेको वार्तामा सहभागीहरु शिक्षक नेताहरुले बताएका छन् । सरकारकोतर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले गरेका थिए भने महासंघको तर्फबाट अध्यक्ष सुवेदीसहितको टोलीले गरेको थियो ।

वार्तापछि शिक्षामन्त्री पन्तले वार्ता सकारात्मक दिशामा अगाडि बढेको प्रतिक्रिया दिएका छन् । ‘केही विषय टुंगो लगाउन बाँकी छ । वार्ता सकारात्मक रूपमा अगाडि बढेको छ,’ वार्तापछि उनले भनेका छन् । शिक्षक महासंघका अध्यक्ष सुवेदीले भने केही विषयमा छलफल भए पनि धेरै विषयमा छलफल बाँकी रहेको बताएका छन् । उनले छलफलबाट निकास निस्केपछि मात्रै आन्दोलन निष्कर्षमा पुग्ने जानकारी दिएका छन् ।

शिक्षा मन्त्रालयमा वार्तापछि सुवेदीले गए राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज शिक्षा मन्त्रालयमा विभिन्न विषयमा लामो छलफल चल्यो, तर निष्कर्षमा पुग्न सकिएन । हामी भर्खरै मन्त्रालयबाट बाहिर आयौं । हाम्रो आन्दोलन जारी छ ।’ सुवेदीले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत् १५ गतेको आन्दोलनमा सहभागी हुने शिक्षक, कर्मचारीलाई धन्यवाद दिँदै आजको आन्दोलनमा पनि सहभागी हुन आह्वान गरेका हुन् । ‘राज्य दिन चाहँदैन, आन्दोलन बिना केही पाइँदैन । त्यसैले आन्दोलन बलियो गराऔं,’ अध्यक्ष सुवेदीले भनेका छन् ।

You may also like