काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहेका नेता रवीन्द्र मिश्रलाई भेटेका छन्। भद्रकालीस्थित प्रहरी कार्यालय पुगेर राप्रपा अध्यक्ष लिङ्देनले उनलाई भेटेका हुन् । भेटका क्रममा समसामयिक राजनीतिक विषयमा छलफल भएको राप्रपाका एक नेताले जानकारी दिएका छन् । ती नेताले भने, ‘अध्यक्ष ज्यूले नियमित रुपमै भेट गरिरहनु भएको हुन्छ, त्यही क्रममा आज पनि भेट्नु भएको हो ।’
लिङ्देनसँगै राप्रपा सांसद् दिपकबहादुर सिंह पनि राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रलाई भेट्न गएका थिए । प्रहरीले उनलाई थप ७ दिन हिरासतमा राख्न आइतबार मात्र अदालतबाट अनुमति लिएको थियो । त्यसअघि मिश्र र दुर्गा प्रसाईंको थप प्रमाण नभए तीन दिनभित्र तारेख वा हाजिर जमानतमा छाड्न अदालतले आदेश दिएको थियो । मिश्रको बयान त्यसअघि नै सकिइसकेको थियो । तर, प्रहरीले फेरि उनीविरुद्ध अनुसन्धान गर्न अझै बाँकी रहेको भन्दै थप २० दिन हिरासतमा राख्न अनुमति मागेको थियो ।
इजलासमा मिश्रले ‘आफ्नो नाक अगाडि नै प्रहरीले अश्रुग्यास खसालेर नवराज सुवेदी समेत घाइते भएपछि आफू केही आवेगमा आएको’ बताएका थिए । तर, ढुंगामुढा वा तोडफोड गर्न आफूले कहिल्यै नभनेको उनले जिकिर गरेका थिए । मिश्र ३१ दिनदेखि प्रहरी हिरासतमा छन् ।
प्रहरीले मिश्रविरुद्ध राजद्रोह र संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको छ । उनी १५ चैतको बेलुकी अस्पतालमा घाइतेहरुलाई भेट्ने क्रममा पक्राउ परेका थिए । मिश्रसँगै पक्राउ परेका सांसद् धवलशमशेर राणा प्रहरीले स्वास्थ्यलाई कारण देखाउँदै एक साताअघि प्रहरीले छाडेको थियो । १५ चैतको प्रदर्शनले हिंसात्मक रुप लिँदा दुई जनाको मृत्यु भएको थियो भने २० जना प्रहरीको गोली लागेर घाइते भएका थिए ।
00100