बर्दघाट–दाउन्ने सडकखण्डमा पहिरो: पूर्वपश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध

Shares

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्डको दाउन्ने क्षेत्रमा मंगलबार मध्यान्ह सुख्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

सडक विस्तारको क्रममा पहाड काट्ने र पर्खाल निर्माणको काम चलिरहेका बेला अचानक सुख्खा पहिरो खसेको हो। इलाका प्रहरी कार्यालय डुम्किबासका प्रहरी निरीक्षक राजन तिमिल्सिनाका अनुसार पहिरो खस्ने क्रममा सडक तलबाट भासिएको र अहिले सडक खुलाउने प्रयास तीव्र गतिमा भैरहेको जानकारी दिए।

“काम भइरहेका बेला सडक तलबाट भासिएको छ, अहिले पहिरो हटाउने प्रयास जारी छ,” निरीक्षक तिमिल्सिनाले भने।

पहिरो दाउन्ने सडकखण्डको विश्वकर्मा बाबाको मन्दिर नजिकै खसेको हो। दुर्घटनापछि यात्रुवाहक साना सवारीहरूका यात्रुहरूलाई झारेर पहिरो पार गराइएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए।

सडक पूर्ण रूपमा अवरुद्ध भएकाले ठूला मालवाहक र यात्रीबसहरूलाई पूर्वतर्फ डुम्किबास र पश्चिमतर्फ बर्दघाटमा रोकिएको छ। सुरक्षाकर्मी र निर्माण कम्पनीको टोली मिलेर यथासिघ्र सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।

You may also like