“भैरहवा विमानस्थल सञ्चालनका लागि आक्रोश: नगरप्रमुख खाँद्वारा दबाबमूलक कार्यक्रमको घोषणा”

Shares

बुटवल।सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सुरु गराउन दबाब दिन आन्तरिक उडान र बेलहिया नाका दुई हप्तासम्म बन्द गर्ने चेतावनी दिएका छन्।

सोमबार नगरपालिकामा स्थानीय उद्योगी, व्यवसायी र संघसंस्थासँगको छलफलमा खाँले प्रधानमन्त्री र मन्त्रीहरूलाई सडक मार्गबाट घण्टौं यात्रा गर्न बाध्य बनाए मात्रै उनीहरूले गम्भीरता देखाउने धारणा राखे।

उनका अनुसार सुरुमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयमा प्रतिनिधिमण्डल पठाइनेछ, तर माग वेवास्ता भएमा आन्दोलनमा उत्रिने तयारी छ। “हाम्रो भिजन विमानस्थल सञ्चालन गर्ने हो, एक्सनमा उडान र नाका बन्द गर्ने हो,” उनले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीबाहेक सबै मन्त्रीहरूले आफ्नो फोन उठाउने गरेको भन्दै खाँले काठमाडौं गएर छलफल गर्न निजी क्षेत्र र संघसंस्थालाई पनि आग्रह गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व सदस्य महेन्द्रकुमार श्रेष्ठले अन्तर्राष्ट्रिय उडान काठमाडौं बाहिर सरेमा आफ्नो व्यवसाय घाटामा पर्ने भएकाले केही समूहले उडान सञ्चालनमा अवरोध गरिरहेको आरोप लगाए।

सिद्धार्थनगर उपप्रमुख उमा अधिकारीले अघिल्ला आन्दोलन सफल नभएको भन्दै अब स्थानीय तहको नेतृत्वमा दबाबमूलक कार्यक्रम आवश्यक रहेको बताइन्।

अन्तर्राष्ट्रिय उडान नहुँदा व्यवसायी निराश

विमानस्थल सञ्चालनको तीन वर्ष पुग्न लाग्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान सुरु नहुँदा होटेल तथा पर्यटन व्यवसायी निराश छन्। तारे होटेलसहित करिब एक खर्ब रुपैयाँ लगानी डुब्ने चिन्तामा व्यवसायी छन्।

मंसिरमा सुरु भएका कतार एयरवेज, थाई एयर एसिया, फ्लाई दुबई र जजिरा एयरलाइन्सका उडान एक महिनामै बन्द भएका थिए। नागरिक उड्डयन प्राधिकरणले प्रविधिमा सुधार गरेपछि केही समय चहलपहल बढेको भए पनि अहिले नेपाल एयरलाइन्सबाहेक अरु विमान कम्पनी उडान गरिरहेका छैनन्।

टिकट कार्टेलिङ र सेवा अभावको गुनासो

ट्राभल व्यवसायीहरू भन्छन्– काठमाडौंका ठूला ट्राभल एजेन्सीको टिकट कार्टेलिङ, एयरलाइन्सले भैरहवामा कार्यालय नखोल्नु, र स्थानीय ट्राभल एजेन्सीलाई पोर्टल नखोल्दा ९५ प्रतिशत टिकट काठमाडौंमै बिक्री भइरहेको छ। यसले विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन हुन दिँदैन।

व्यवसायी सञ्जय बजिमयले विमानस्थलमै टिकट काउन्टर, अनलाइन ई–भिसा र अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीको व्यवस्था गर्नुपर्ने बताए। सागर अधिकारीले बौद्धमार्गी देशहरूबाट सिधा उडानको आवश्यकता औंल्याए।

गौतमबुद्ध विमानस्थलका प्रवक्ता श्यामकिशोर साहका अनुसार थाई एयर एसिया, फ्लाई दुबई र जजिराले समर सेड्युल नतय गरेकाले हाल उडान रोकिएको हो। जजिराले भने मे महिनाबाट उडान सुरु गर्ने आश्वासन दिएको छ।

You may also like