पूर्वाधार अलपत्र, नीति अस्पष्ट : भैरहवामा उठ्यो समृद्धिको बहस

Shares

भैरहवा । रुपन्देहीका नागरिक समाज, उद्योगी, व्यवसायी र बुद्धिजीविहरुले देशको विकास र समृद्धिबारे चिन्ता व्यक्त गरेका छन् । बिहिवार भैरहवामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले जिल्लामा निर्माण भएका पूर्वाधार अलपत्र पारिएको तथा नीतिगत रुपमै सरकार स्पष्ट नरहेकोले समस्या थपिएको विचार राखे । उनीहरुले विकासमा राजनीति नगर्न र नागरिकलाई आश्वासन मात्र दिने कार्य नगर्न सरकार र राजनीतिक दलको ध्यानाकर्षण गराए ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा भएको कार्यक्रममा बोल्दै उनीहरुले सदनमा जनताका आवाज उठाउन र आवश्यक पहल लिन प्रचण्डलाई अनुरोध गरे ।

माओवादी केन्द्रको जनतासंग माओवादी हुलाकी मार्ग जागरण अभियानको क्रममा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले देशको आर्थिक तरलता, युवाको विदेश पलायनसंगै रुपन्देहीमा बनेका सुख्खा बन्दरगाहा, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, मोतिपुर औद्योगिक क्षेत्र र सेज संचालनबारे विचार राखे । सरकारले आश्वासन मात्र दिएको उल्लेख गर्दै उनीहरुले रुपन्देहीको आर्थिक र पर्यटन विकासको लागि सदनमा आवाज उठाउन माओवादी केन्द्रलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै उद्योग व्यापार महासंघका केन्द्रिय महासचिव खेमनारायण पराजुलीले नीतिगत सुधार नगरी अहिलेको आर्थिक समस्याबाट उठ्न नसकिने बताए । भैरहवाको विमानस्थलमा राज्य र निजि क्षेत्रको गरी झन्डै दुई खर्ब लगानी भएको उल्लेख गर्दै उनले उक्त लगानीलाई खेर जान नदिन दलहरुले पहल गर्नुपर्ने विचार राखे ।

त्यसैगरी व्यापार संघ लुम्बिनी प्रदेशका अध्यक्ष टंक पोखरेलले जुन सरकार आएपनि उद्योगी व्यापारी र नागरिकको अवस्थामा परिवर्तन नआएको बताए । उनले भौतिक र आर्थिक विकासमा दलिय सहमति आवश्यक रहेको औल्याए ।

घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष गणेश अधिकारीले युवाको विदेश पलायन र उद्योगहरु बन्द हुँदै जाने स्थिति नरोकिए राज्य असफल हुने चिन्ता व्यक्त गरे । उनले नीति बनाउने र नीतिमा टिकेर काम गर्ने नभई हचुवांको भरमा आयोजना ल्याउने र अलपत्र पार्ने कार्यमा राज्य नै लागेको भन्दै यस्तो कार्य रोकिनुपर्ने माग गरे ।

उद्योग वाणिज्य संघ बुटवलका पुर्व अध्यक्ष नवराज श्रेष्ठले मोतिपुर औद्योगिक क्षेत्र संचालनमा अनावश्यक राजनीति भएको भन्दै चिन्ता व्यक्त गरे ।

त्यसैगरी लुम्बिनी विश्वविद्यालयका प्राध्यापक तथा शिक्षकहरुले शिक्षाको क्षेत्रमा सरकारको नीति स्पष्ट नरहेको बताए । उनीहरुले लुम्बिनी बौद्ध विश्वविद्यालयले झन्डै आठ अर्वको योजना ल्याएको भएपनि विद्यार्थी नै नपाइने होकी भन्ने चिन्ताले पिरोलेको बताए । शिक्षकहरुले सरकारले शिक्षकका माग सम्बोधन गर्न आलटाल गरेको भन्दै पहल गरिदिन प्रचण्डसंग आग्रह गरे ।

कार्यक्रममा बोल्दै पुर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार नै विचौलियाले चलाएको हुनाले समस्या आएको बताए । उनले आफु सरकारमा हुँदा विमानस्थल चलाउनेदेखि लुम्बिनी बौद्ध विश्वविद्यालयको योजना निर्माण र अर्थतन्त्रको नीतिगत सुधारको लागि काम गर्दागर्दै सेटिङ्गमा सरकार ढालिएको बताए । आफु देशको विकास र समृद्धि कै अभियानमा रहेको उल्लेख गर्दै प्रचण्डले आफुलाई साथ दिन नागरिक समाज, बुद्धिजीवी तथा उद्योगी-व्यवसायीलाई आग्रह गरे ।

उद्योग व्यापार संघ रुपन्देहीका अध्यक्ष गोविन्द गैरेको अध्यक्षता रहेको कार्यक्रमा माओवादी नेता वामदेव क्षेत्री, उद्योग व्यापार महासंघका बाबुराम पोखरेल लागयतले बोलेका थिए । व्यवसायीहरुले अध्यक्ष प्रचण्डलाई उद्योगी व्यावसायीका समस्याको टिपोट सहित ज्ञापन पत्र समेत बुझाएको उद्योग व्यापार संघ रुपन्देहीका सचिव नेत्र रुचालले जानकारी दिए ।

You may also like