सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित सिद्धबाबा क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। शनिबार बिहान करिब ४ बजे खसेको पहिरोले लुम्बिनी प्रदेश नम्बर ज ०२७६ को एउटा कार पूर्ण रूपमा पुरिएको छ।
प्रहरीका अनुसार पहिरो कारमाथि खसेको हो, तर चालक र यात्रु सामान्य अवस्थामा छन्। त्यस्तै, सोही क्षेत्रको निर्माणाधीन कल्भर्ट भासिएर एउटा टिपर पनि फसेको छ। दोभान प्रहरी चौकीले टिपर र पहिरो हटाउने प्रयास भइरहेको जनाएको छ।
स्थानीय चालक पीताम्बर भट्टराईका अनुसार लगातार वर्षाका कारण बिहानैदेखि सडक बन्द छ। सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग, कल्भर्ट, नाली र रक नेट जस्ता निर्माणकार्यहरू चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले गरिरहेको छ।
यस राजमार्गमार्फत पाल्पासँगै गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङजस्ता गन्तव्यका सवारीहरू ओहोरदोहोर गर्ने गर्छन्। यस क्षेत्रमा नरम माटोमा अडिएको चट्टान सुख्खा मौसममा पनि खस्ने भएकाले पहिरोको जोखिम उच्च छ।