बुटवलमा ‘बिटुसी समिट २०२५’ को सम्पूर्ण तयारी पूरा, निःशुल्क प्रवेशको व्यवस्था

बुटवल । बुटवलमा भोली (सोमबार) देखि दुई दिने बिजनेस टु कस्टमर (बिटुसी) समिट २०२५ आयोजना हुँदैछ। सूचना, सञ्चार तथा प्रविधिको क्षेत्रमा भएका नवीनतम विकास तथा नयाँ प्रविधिसँग सम्बन्धित सामग्री र सेवाहरूको प्रदर्शनी गर्ने उद्देश्यले आयोजित यो समिट दुई दिनसम्म चल्नेछ।

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) रूपन्देहीको आयोजनामा बुटवलको मिलनचोकस्थित सिद्धार्थ कटेजमा हुन लागेको समिटको सम्पूर्ण तयारी पूरा भएको क्यान रूपन्देहीले आईतबार साँझ पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो। समिटको उद्घाटन बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले गर्नेछन्।

क्यान रूपन्देहीका अध्यक्ष जीवन अधिकारी का अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचना तथा प्रविधिसँग सम्बन्धित कम्पनीहरूका २८ स्टल रहने छन्, जसमा हार्डवेयर, पावर सोलुसन, सफ्टवेयर तथा विभिन्न प्रविधि प्रदर्शनी गरिनेछ। समिटमा अवलोकनकर्तालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। कार्यक्रम संयोजक तथा क्यान रूपन्देहीका उपाध्यक्ष विरबहादुर क्षेत्री का अनुसार समिटमा करिब ५,000 दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ। साथै, प्राविधिक क्षेत्रमा अध्ययन गरेका विद्यार्थी, नीति निर्माण तहका जनप्रतिनिधि तथा अधिकारीहरू र उपभोक्ताहरूको सहभागिता रहनेछ।

क्यान रूपन्देहीका सचिव सुरेशचन्द्र भट्टराई का अनुसार समिटमा ब्रान्ड लक्षित कार्यक्रमहरू आयोजना गरिनेछन्, जसमा ब्रान्ड प्रमोसन मात्रै गरिनेछ भने कुनै खरिदबिक्री हुने छैन। साथै, उत्पादक तथा आयातकर्ताबीच अन्तरक्रिया कार्यक्रम समेत गरिनेछ।

समिटको विशेष आकर्षणको रूपमा नेपाल टेलिकमले निःशुल्क सिम वितरण गर्नेछ। साथै, सहभागीहरूका लागि आफ्नो सिमकार्डलाई ई-सिममा रूपान्तरण गर्ने सुविधा समेत उपलब्ध हुनेछ। आयोजकका अनुसार समिट प्रविधि प्रेमीहरूका लागि नयाँ प्रविधिहरू बुझ्ने, अध्ययन गर्ने र प्रविधि व्यवसायीहरूसँग अन्तरक्रिया गर्ने उत्कृष्ट अवसर बन्नेछ।

Shares

You may also like

skip


This will close in 5 seconds