निजी विद्यालयलाई पनि स्वास्थ्य सामग्रीको व्यवस्थापन हुनुपर्छ : सियारी अध्यक्ष घिमिरे

by समतल अनलाइन
139Shares

नगेन्द्र केसी
रुपन्देहीको सियारी गाउँपालिका अवस्थित दुर्गा शैक्षिक गृहको प्राङ्गणमा निजी अङ्ग्रेजी विद्यालय शिक्षक संगठन (पेष्टा) को आयोजनामा सम्पन्न १५ औं खेल महोत्सव बिहीबार सम्पन्न भएको छ।

कार्यक्रम पेष्टा अध्यक्ष इन्द्र क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले उद्घाटन गर्नुभयो। अध्यक्ष घिमिरेले नेपाल सरकारले सामुदायिक विद्यालयको हितमा मात्र विभिन्न सहयोग गर्दै आएकोमा आपत्ति जनाउँदै निजी विद्यालयलाई पनि स्वास्थ्य सामग्रीका लागि पूर्ण रूपमा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले स्थानीय सरकार भनिए तापनि केही विद्यार्थी बालिकालाई स्वास्थ्य सामग्री वितरण गर्दा समेत केन्द्रबाट बेरुजु आउने बताउनुभयो। उहाँले शैक्षिक क्षेत्रमा सामुदायिक विद्यालय मात्र नभई निजी विद्यालयलाई पनि सहयोग गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

बुधबारदेखि सुरु भएको खेल महोत्सव अन्तर्गत भलिबल प्रतियोगितामा ज्ञानपुञ्ज विद्यामन्दिरले तिलोत्तमा अङ्ग्रेजी माविलाई पराजित गर्दै १५ औं भलिबल रनिङ शिल्डको उपाधि चुम्न सफल भएको छ। ज्ञानपुञ्ज विद्यामन्दिरले नगद १५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। तिलोत्तमा अङ्ग्रेजी मावि दोस्रो स्थानमा रहँदै नगद १० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो भने सन्तज्योती इङ्ग्लिस बोर्डिङ स्कुल तृतीय स्थानमा रहँदै नगद ५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो।

महिला डबल ब्याडमिन्टन प्रतियोगितामा रोजबर्ड एकेडेमी प्रथम हुँदै नगद ५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो। सिद्धिविनायक सेकेन्डरी स्कुल दोस्रो हुँदै नगद ३ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो। यस्तै, देवसिद्ध बोर्डिङ स्कुल र ज्ञानपुञ्ज विद्यामन्दिर तृतीय हुँदै नगद २ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

टेबल टेनिसतर्फ सिद्धिविनायक सेकेन्डरी स्कुलका साहित्य कठेरिया प्रथम हुँदै नगद २ हजार, तिलोत्तमा अङ्ग्रेजी माविका अनमोल थापा द्वितीय हुँदै १ हजार ५ सय तथा फर्साटिकर सिद्धार्थ बोर्डिङ स्कुलका सम्राट रोका तृतीय हुँदै नगद १ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भए।

हण्डीफोर प्रतियोगितामा तिलोत्तमा अङ्ग्रेजी माध्यामिक विद्यालयका नारायण रेस्मी प्रथम हुँदै नगद १ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भए।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय विद्यालयका शिक्षक, शिक्षिका र विद्यार्थीहरूलाई पेष्टा रुपन्देही अध्यक्ष, सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे, मुख्य प्रायोजक प्रीमा एजुकेसन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक सागर केसी, रेप्सा रुपन्देही अध्यक्ष लोक शर्मा बस्याल, प्याब्सु अध्यक्ष विष्णु गौतम लगायतले संयुक्त रूपमा पुरस्कार वितरण गर्नुभयो।

पेष्टाले खेल महोत्सवको अवसरमा दीर्घसेवी शिक्षक शिक्षिकालाई सम्मानसमेत गरेको थियो। कार्यक्रम पेष्टा रुपन्देहीका उपाध्यक्ष चिन्तामणी खरेलको स्वागत मन्तव्य र पेष्टा रुपन्देहीका सचिव राजन पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो।

Comments

You may also like