बुटवल । रूपन्देहीका उद्योगीहरूले करको भार, जग्गाको अभाव, बैंकबाट ऋण लिन कठिनाइ र नीतिगत जटिलताजस्ता समस्या समाधान गर्न तीनै तहका सरकारसँग आग्रह गरेका छन्।
रूपन्देही उद्योग संघको ४८औँ वार्षिक साधारणसभामा उद्योगीहरूले उद्योगमैत्री नीति निर्माण, लगानीको सुरक्षा र औद्योगिक क्षेत्रको व्यवस्थित विकासमा जोड दिएका हुन्।
साधारणसभाको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटनमन्त्री तुलसी चौधरीले रूपन्देही औद्योगिक क्षेत्रको केन्द्र र अर्थतन्त्रको आधार भएको बताउनुभयो। उद्योगको विकासबिना समग्र क्षेत्रको आर्थिक विकास सम्भव नहुने उहाँको भनाइ थियो।
मन्त्री चौधरीले बैंकको ब्याजदर घटे पनि उद्योगीहरूले सहज रूपमा ऋण पाउन नसकेको उल्लेख गर्दै नीतिगत समस्या समाधान गर्नुपर्ने बताउनुभयो। सफल उद्योगीमाथि हुने गलत व्यवहारले निजी क्षेत्रको मनोबल कमजोर बनाउने भन्दै उहाँले उद्योग सञ्चालनमा नयाँ प्रविधिको प्रयोग र प्रदूषण नियन्त्रणमा ध्यान दिन आग्रह गर्नुभयो।
औद्योगिक क्षेत्रको व्यवस्थापनमा समस्या रहेको स्वीकार गर्दै उहाँले प्रदेश सरकारले काम गर्न खोजे पनि संघीय सरकारबाट आवश्यक सहयोग र अधिकार प्राप्त हुन नसकेको बताउनुभयो।
संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले उद्योगीहरूले विभिन्न शीर्षकमा धेरै ठाउँमा कर तिर्नुपरेको, उद्योग विस्तारका लागि पर्याप्त जग्गा नपाएको र नीतिगत जटिलता झेल्नुपरेको बताउनुभयो। स्वदेशी उद्योगलाई संरक्षण गर्दै उद्योगी व्यवसायी टिक्ने वातावरण बनाउन तीनै तहका सरकारको ध्यानाकर्षण गराउनुभयो।
रूपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुलभ खरेलले निजी क्षेत्रको विश्वास जित्न सके मात्रै लगानी र आर्थिक गतिविधि विस्तार हुने बताउनुभयो। सरकारले आफ्ना कमजोरी स्वीकार गर्दै सुधार गर्नुपर्ने उल्लेख गर्दै उहाँले सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।
बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्यालले स्थानीय तहले गर्न खोजेका काममा विभिन्न अवरोध रहेको बताउनुभयो। वन स्रोतको उपयोग र बधशाला सञ्चालनमा देखिएका समस्या उल्लेख गर्दै उहाँले स्थानीय सरकारका काममा कमजोरी देखिए रचनात्मक सुझाव दिएर सुधारमा सहयोग गर्न आग्रह गर्नुभयो।
साधारणसभामा सहभागी उद्योगी तथा सरोकारवालाहरूले उद्योग स्थापना र सञ्चालनमा देखिएका करसम्बन्धी जटिलता, जग्गाको अभाव, प्रशासनिक समस्या र नीतिगत अन्योलले लगानी प्रभावित भइरहेको बताएका थिए। औद्योगिक विकासका लागि सरकार, निजी क्षेत्र र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ थियो।
कार्यक्रममा उद्योगी मेघराज भण्डारी, नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डे, पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेल, रूपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकाल, बेलहिया भन्सार कार्यालयका प्रमुख हरिहर पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्लेले स्वागत र प्रथम उपाध्यक्ष हरिबहादुर खत्रीले धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन महासचिव सुमन बस्यालले गर्नुभएको थियो।
साधारणसभाले कोषाध्यक्ष विशाल बेल्वासेले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन र महासचिव बस्यालले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन पारित गरेको छ। सो अवसरमा संघको आजीवन सदस्यता प्राप्त गर्ने तथा साधारणसभा सम्पन्न गर्न सहयोग पुर्याउने उद्योगीहरूलाई सम्मानसमेत गरिएको थियो।

