बुटवल उद्योग वाणिज्य संघको नेतृत्वका लागि पौडेल र गैरे प्यानलबीच प्रतिस्पर्धा

by समतल अनलाइन
49Shares

बुटवल । बुटवल उद्योग वाणिज्य संघको आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्ष पदमा नरिश्वर शर्मा पौडेल र टंकप्रसाद गैरे प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन्। संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधिवेशनअन्तर्गत सोमबार नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ।
संघको नेतृत्व लिन दुवै पक्षले विभिन्न पदमा उम्मेदवारी दिएका छन्। निर्वाचनमा अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, उद्योग उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव, सहसचिव तथा विभिन्न क्षेत्रका कार्यसमिति सदस्य चयन हुनेछन्।
अध्यक्ष पदका उम्मेदवार पौडेल पूर्व वाणिज्य उपाध्यक्ष तथा वर्तमान कार्यसमिति सदस्य हुन् भने गैरे वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष हुन्।

यस्तो छ दुवै प्यानलका उम्मेदवार

पौडेल प्यानलबाट वरिष्ठ उपाध्यक्षमा वर्तमान उद्योग उपाध्यक्ष सुरज भट्टराई उम्मेदवार बनेका छन्। त्यस्तै, उद्योग उपाध्यक्षमा निर्मित कसजू र वाणिज्य उपाध्यक्षमा बाबुराम विश्वकर्माले उम्मेदवारी दिएका छन्।

गैरे प्यानलबाट वरिष्ठ उपाध्यक्षमा वर्तमान वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई, उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठ र वाणिज्य उपाध्यक्षमा मुक्तिप्रसाद अधिकारी प्रतिस्पर्धामा छन्।

महासचिव पदमा वर्तमान कोषाध्यक्ष वसन्तप्रसाद ढकाल र वर्तमान कार्यसमिति सदस्य जमुना पौडेलबीच प्रतिस्पर्धा हुँदैछ। ढकाल पौडेल प्यानलबाट उम्मेदवार बनेका छन् भने जमुना गैरे प्यानलबाट चुनावी मैदानमा छिन्।

कोषाध्यक्ष पदमा पौडेल प्यानलबाट प्रतीक पोखरेल र गैरे प्यानलबाट टीकाराम वञ्जाडे उम्मेदवार बनेका छन्।
सचिव पदमा दीपक चापागाईं र काशीराम शर्मा पौडेलबीच प्रतिस्पर्धा छ। चापागाईं पौडेल प्यानलबाट उम्मेदवार बनेका छन् भने शर्मा गैरे प्यानलबाट चुनावी मैदानमा छन्।

त्यस्तै, सहकोषाध्यक्ष पदमा पौडेल प्यानलबाट कमला पोखरेल पराजुली र गैरे प्यानलबाट जाकिर हुसेन उम्मेदवार छन्।

कार्यसमिति सदस्यमा पनि कडा प्रतिस्पर्धा

एशोसिएटतर्फको कार्यसमिति सदस्य पदमा पौडेल प्यानलबाट भानुभक्त खत्री र गैरे प्यानलबाट बालकृष्ण पौडेल प्रतिस्पर्धामा छन्।
चार उद्योग सदस्य पदका लागि आठ जनाको उम्मेदवारी परेको छ। पौडेल प्यानलबाट सुनिता शर्मा वञ्जाडे, कृष्णप्रसाद पाण्डेय, ज्ञानबहादुर पुन र लेखनाथ भण्डारी उम्मेदवार छन्। गैरे प्यानलबाट दीपक बास्तोला, गोपाल टण्डन, ज्ञानप्रसाद खनाल र प्रबिन्द्र गोविन्द श्रेष्ठ (पिजी) प्रतिस्पर्धामा छन्।
चार वाणिज्य सदस्य पदका लागि पनि आठ जनाबीच प्रतिस्पर्धा हुँदैछ। पौडेल प्यानलबाट गणेशप्रसाद भट्टराई, उमेश अमात्य, रामबहादुर भण्डारी र धर्मेन्द्रकुमार कशौधन उम्मेदवार छन्। गैरे प्यानलबाट मनिषकुमार हेजू (पुट्टे), मिलनकुमार भारी, राजेश भट्टराई र सुनिता गिरी चुनावी मैदानमा छन्।
खुलातर्फका सात कार्यसमिति सदस्य पदका लागि १४ जनाले उम्मेदवारी दिएका छन्। पौडेल प्यानलबाट अलिम दिन, विष्णु उपाध्याय, विष्णु घिमिरे पन्थ (कमला), दीपक घिमिरे, प्रदीप शाक्य, कृष्णप्रसाद श्रेष्ठ (कुलप्रसाद) र शिवदेव अर्याल उम्मेदवार छन्।

त्यस्तै, गैरे प्यानलबाट विजयकुमार बर्णवाल, गणेशप्रसाद सेढाई, गोपालप्रसाद बस्याल, सुनिता अर्याल, जनककुमार श्रेष्ठ, सुशीलप्रसाद श्रेष्ठ र ठाकुर घिमिरे प्रतिस्पर्धामा छन्।

दुई महिला सदस्य पदका लागि चार जनाबीच प्रतिस्पर्धा हुँदैछ। पौडेल प्यानलबाट मञ्जु पुरी गिरी र रेनु श्रेष्ठ तथा गैरे प्यानलबाट सुष्मा केसी र सुकमाया श्रेष्ठ ध्वजु (सीता) उम्मेदवार बनेका छन्।
निर्वाचनको तयारी पूरा

संघको नयाँ नेतृत्व चयनका लागि आज हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन समितिले जनाएको छ।
प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेका अनुसार निर्वाचन कार्यक्रमअन्तर्गत सोमबार बिहान ८ बजेदेखि मतदान सुरु भएको छ । मतदान साँझ ५ बजेसम्म सञ्चालन हुने कार्यक्रम तय गरिएको छ।

संघका अध्यक्ष हरिप्रसाद अर्यालका अनुसार यस अधिवेशनमा १ हजार ८१० जना मतदाता रहेका छन्। उनीहरूले आगामी तीन वर्षका लागि संघको नयाँ नेतृत्व चयन गर्नेछन्।

You may also like