बुटवल जेसीजमा नवनिर्वाचित अध्यक्ष मोहन न्यौपानेले पदभार ग्रहण गर्नुभएको छ । शनिबार बुटवलमा आयोजना गरिएको कार्यक्रममा निवर्तमान अध्यक्ष विनोद घिमिरेले नवनिर्वाचित अध्यक्ष न्यौपानेलाई पदभार हस्तान्तरण गर्नुभएको हो ।
त्यस अवसरमा बोल्दै प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री सुरेन्द्र आचार्यले जेसीजबाट नेतृत्व तथा व्यक्तित्व विकास गरेका युवाहरु राजनीतिको नेतृत्वमा पनि आउनु पर्ने धारणा राख्नुभयो । उहाँले विधिको शासनको अभ्यास गरिरहेका युवाहरु राजनीतिमा आउँदा राजनीति र शासन पद्धतीमा समेत विधिको शासनको अभ्यास हुन सक्ने बताउँदै देशको विकास र समाज रुपान्तरणका लागि पनि जेसीजमा लागेका युवाहरु राजनीतिमा आउनुपर्ने भनाई राख्नुभएको हो । उहाँले समाज बदल्न युवा शक्तिको भुमिका हुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले देशमै युवाहरुको भविश्य सुचिश्चि हुनेगरी कार्यक्रम ल्याउन सुझाव दिनुभयो । नगरप्रमुख पाण्डेयले बुटवल जेसीजले नेपाल जेसीजलाई नै लिड गर्ने क्षमता राख्ने बताउँदै क्षमता प्रदर्शनकालागि नेतृत्वलाई उहाँले आग्रह गर्नुभयो ।
बुटवल जेसीजमा यो वर्षका लागि अध्यक्षमा न्यौपाने सहित कार्यकारिणी उपाध्यक्षमा यदुमणी पोखरेल र विनोद पोखरेल, उपाध्यक्षमा नारायण घिमिरे, रमेश न्यौपाने, बाबुराम लम्साल र विकास पन्थी, सहसचिवमा नारायण पोखरेल र सहकोषाध्यक्षमा सुमन श्रीस निर्वाचित हुनु भएको थियो । अध्यक्षले मनोनित गर्ने वैधानिक व्यवस्था अनुसार महासचिवमा प्रकाश गैरे र कोषाध्यक्षमा मनोजलाल श्रेष्ठलाई अध्यक्ष न्यौपानेले मनोनित गर्नुभएको छ ।
पत्रकार ज्ञवालीलाई उत्कृष्ट पत्रकारिता पुरस्कार
बुटवल जेसीजले प्रदान गर्ने गणेशमान सैजू स्मृति उत्कृष्ट बुटवल जेसीज पुरस्कार पत्रकार कपिल ज्ञवालीलाई प्रदान गरिएको छ । नेपाल प्रेस युनियन रुपन्देहीका सचिव तथा बुद्ध सामुदायिक टेलिभिजन, नागरिक अनलाईन, गोरखापत्र संस्थानमा कार्यरत ज्ञवालीलाई बुटवल जेसीजको ५१ औँ पदस्थापन समारोहमा स्व.गणेशमान सैंजू स्मृति बुटवल जेसिज उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२४’ प्रदान गरिएको हो ।
त्यसैगरी समृद्वि सलुन एण्ड ऐकेडेमी बुटवलका सञ्चालक मोहन ठाकुरलाई उत्कष्ट युवा सम्मान प्रदान गरिएको छ । उहाँहरुलाई पुर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुरेन्द्र आचार्य र बुटवल जेसीजका अध्यक्ष बिनोद घिमिरेले सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।